शीर्षकहरू

प्रभु समूहको संकट मोचनका लागि क्यापिटलमार्फत भवन खरिदको प्रयास, नियमनको गम्भीर उल्लंघन

प्रभु समूहको संकट मोचनका लागि क्यापिटलमार्फत भवन खरिदको प्रयास, नियमनको गम्भीर उल्लंघन

काठमाडौं । प्रभु समूहको अन्तर्गतको प्रभु क्यापिटलले आफ्नो कार्यालय रहेको काठमाडौं कमलादी स्थित भवन करिब ८० करोड रुपैयाँमा खरिद गर्ने भएको छ । भवन खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको क्यापिटल स्रोतले जनाएको छ । क्यापिटलले ३० करोड रुपैयाँ बजार मूल्य भएको सो भवन साढे दुई गुणा भन्दा बढी रकममा खरिद गर्न लागेको स्रोतले जनाएको छ ।

प्रभु क्यापिटलमा प्रभु बैंकको ५६ प्रतिशत लगानी छ । प्रभु क्यापिटलको हालको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँ मात्र छ । यद्यपि क्यापिटलले ८० करोड बराबरको भवन खरिद गर्न लागेको हो ।

क्यापिटलले खरिद गर्न लागेको सो भवन प्रभु समूहका अध्यक्ष एवम् एमाले सांसद देवीलाल भट्टचनको हो । भट्टचनकै डिजाइनमा प्रभु बैंकलाई समेत आर्थिक धक्का लाग्ने गरी भवन खरिद गर्न लागिएको स्रोतले आर्थिक न्यूजलाई बताएको छ । भवन खरिद विक्रीमा प्रभु समूहका अध्यक्ष देवी भट्टचन, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटलका निर्देशक विकास गुरागाई, क्यापिटलका प्रबन्ध निर्देशक आशिष शेरचन र प्रभु बैंकका कर्मचारी बासु थपलियाको मिलेमतो भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रभु समूह हाल गम्भीर आर्थिक समस्यामा परेको छ । यिनै समस्याबाट उकास्नका लागि प्रभु क्यापिटल मार्फत चर्को मूल्यमा भवन खरिद गरी समूहलाई आर्थिक लाभ पुर्याउने नियत राखिएको स्रोतले दाबी गरेको छ । तर, यसले बैंकको ठूलो रकम दुरुपयोग हुनेछ ।

तर, प्रभु समूहका अध्यक्ष एवम् सांसद भट्टचनले भने खरिद विक्रीको कुरा मात्रै उठेको बताए । ‘खरिद गर्ने विषयमा छलफल मात्रै भएको हो । तर, प्रक्रिया केही पनि अगाडि बढेको छैन,’ उनले भने  ।

समूहका  अध्यक्ष भट्टचनले अन्य बैकहरूबाट लिएको ऋण समयमै भुक्तानी गर्न सकेका छैनन् ।  समयमा ऋण भुक्तानी गर्न नसक्दा हिमालयन बैंकले उनी विरुद्ध ३५ दिने सूचना समेत जारी गरेको छ । त्यस्तै, नेपाल सिपमेन्ट नामक कम्पनीले प्रभु बैंकबाट लिएको ४० करोड ऋण लामो समयदेखि भुक्तानी भएको छैन ।

समूहको वित्तीय संकट समाधान गर्न, प्रभु बैंक मार्फत राजेन्द्र शाक्यको होटललाई एक अर्ब ५० करोड ऋण प्रवाह गरी त्यस रकमबाट नेपाल सिपमेन्टको ऋण समायोजन गर्ने योजना बनाइएको पनि स्रोतको दाबी छ । 

यस घटनाले प्रभु समूह, प्रभु बैंक र प्रभु क्यापिटलको आन्तरिक नियमन, वित्तीय अनुशासन, तथा नीति नियमको गम्भीर उल्लंघन भएको संकेत दिएको छ । बैकलाई घाटा हुने गरी सो भवन खरिदमा गरेमा बैकका लगानीकर्ता र निक्षेपकर्ताको प्रतिफलमा धक्का पुग्ने स्रोतको दाबी छ । क्यापिटलका लगानीकर्ता सम्बन्धित निकायको उजुरी दिने तयारीमा समेत रहेको स्रोतले आर्थिक न्यूजलाई जानकारी दिएको छ । ‘प्रभु समूह, क्यापिटल र बैकका केही व्यक्तिले आर्थिक अपचलन गरी खरिद विक्री गर्न लागेका छन् । तर, यसमा सम्बन्धित निकायको ध्यान गएकै छैन । यो खरिद विक्री भयो भने बैकका लगानीकर्ता घाटामा जानेछन्,’ स्रोतले भन्यो ।