शीर्षकहरू

शेयर धितो कर्जा १ खर्ब १८ अर्ब नाघ्यो, ठूलो कर्जा लिनेहरु साढे ४१ प्रतिशतले बढे

शेयर धितो कर्जा १ खर्ब १८ अर्ब नाघ्यो, ठूलो कर्जा लिनेहरु साढे ४१ प्रतिशतले बढे

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा १ खर्ब १८ अर्ब बढी कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जा साढे ३१ प्रतिशतले बढेको छ । यसै अवधिमा ठूला शेयर धितो कर्जा लिनेहरु अर्थात एक करोड भन्दा माथिको कर्जा लिनेहरु साढे ४१ प्रतिशतले बढेका छन् ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेकोे तथ्यांकअनुसार फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब १८ अर्ब ५० करोड १० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् । जुन गत असारको तुलनामा ३१.५३ प्रतिशतले धेरै हो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले यो शिर्षकमा ९० अर्ब ९ करोड ३२ लाख कर्जा प्रवाह गरेका थिए । 

केन्द्रीय बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ९६ अर्ब ३९ करोड कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुले १७ अर्ब ८७ करोड तथा फाइनान्स कम्पनीहरुले ३ अर्ब ३० करोड शेयर धितोमा कर्जा प्रवाह गरेका छन् । 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही लचिलो नीति लिएको थियो। जसका कारण शेयर कर्जा बढ्दै गएको देखिन्छ ।  राष्ट्र बैंकले चालु मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको शेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको थियो । साथै राष्ट्र बैंकले शेयर धितोको जोखिम भार घटाएपछि यस्तो प्रकृतिको कर्जा लिन लगानीकर्तालाई प्रोत्साहन मिलेको हो । शेयर धितो कर्जामा बढोत्तरी आएपनि त्यसको प्रभाव भने शेयर बजारमा खासै देखिएको छैन् । 

मार्जिन प्रकृतिको कर्जामा ठूलो ऋण लिने सबैभन्दा बढी बढेका छन् । केन्द्रीय बैंकको विवरण अनुसार १ करोड भन्दा बढी ऋण लिने ४१.४८ प्रतिशतले बढेका छन् । चालु आवको फागुन सम्ममा १ करोड रुपैयाँभन्दा माथिको ऋण ७९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ । त्यसपछि सबैभन्दा बढी ऋण लिनेमा ५० लाखदेखि १ करोडसम्म ऋण लिनेहरु छन्। यो आकारको शेयर धितो कर्जा पनि १८.९ प्रतिशतले बढेको छ । फागुनसम्म यो रेन्जमा १४ अर्ब ७७ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

२५ लाख भन्दा कम र २५ लाखदेखि ५० लाख रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा लिने ऋणीहरु सामान्य बढेका छन् । २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा लिने १४ प्रतिशत तथा २५ लाख भन्दा कम कर्जा लिनेहरु ११.४ प्रतिशतले मात्र बढेका छन् । 

साना कर्जा लिनेहरु घट्ने तथा ठूला कर्जा लिनेहरु बढेकाले शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाएको अनुमान गर्न सकिन्छ । अहिले बैंकहरुको ठूलो रकम शेयर बजार आउने क्रम जारी रहेकाले बजारमा सुधार आउने अनुमान भइरहेको छ । 

यतिबेला बैंकहरुसँग लगानी योग्य रकम प्रशस्त छ भने बैंकहरुले ब्याजदर समेत निरन्तर घटाउदै लगेका छन् । अहिले शेयर धितो कर्जाको औसत ब्याजदर नै ८.३९ प्रतिशतमा झरेको छ । यसले लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न थप उत्साहित गरिरहेको छ । यसले पनि मार्जिन प्रकृतिको  कर्जाको आकार बढ्न थालेको हो । 

null