शीर्षकहरू

अधिक तरलताकोे २ खर्ब ३७ अर्ब राष्ट्र बैंकमा, बैंकहरुले एकैदिन बुझाए सवा १ खर्ब

अधिक तरलताकोे २ खर्ब ३७ अर्ब राष्ट्र बैंकमा, बैंकहरुले एकैदिन बुझाए सवा १ खर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसकेको २ खर्ब ३७ अर्ब ८५ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा जम्मा भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले चैत २५ गते सोमबारसम्म स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण मार्फत उक्त रकम राष्ट्र बैंकमा राखेका हुन् । 

चैत २५ गते सोमबार एकैदिन बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २७ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । सोमबार बैंकहरुले ९६ अर्ब ४० करोड एसडीएफ तथा निक्षेप संकलन उपकरण मार्फत ३१ अर्ब ३० करोड निक्षेप केन्द्रीय बैंकमा राखेका हुन् । बैंकहरुले निक्षेप संकलन उपकरणमा घटाएर एसडीएफमा लगानी बढाएका छन् । यसले बैंकहरुमा कर्जा विस्तार हुने अपेक्षा बढेको देखिन्छ । 

सोमबार केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २३ दिनको लागि ३५ अर्ब तरलता प्रशोचन गर्न खोज्दा ९ बैंक तथा वित्तीय संस्थाहरुले ३१ अर्ब ३० करोड मात्र जम्मा गरेका छन् । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ ।  

बैंकहरुले निक्षेप संकलन उपकरणमा लगानी गरेको १ खर्ब ४१ अर्ब ४५ करोड परिपक्क हुन बाँकी छ । चालु आर्थिक वर्ष सुरु भएयता चैत २५ गते सोमबारसम्म केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ६३ पटकमा २१ खर्ब ७ अर्ब २५ करोड तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गर्छ । त्यसैगरी ३ प्रतिशत भन्दा तल आएको खण्डमा बजारबाट तरलता खिच्छ ।

निक्षेप संकलनमा माग भएजति रकम नदिएका बैंकहरुले एसडीएफमा भने अघिल्लो पटकको तुलनामा ३ अर्ब ६५ करोड बढी रकम राखेका छन् । एसडीएफमा राखेको रकम ३ दिनमा परिपक्क हुन्छ । राष्ट्र बैंकले ब्याजदर कोरिडोर कार्यान्वयन प्रभावकारी बनाउन गत वर्षको फागुनदेखि बैैंक, वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता केन्द्रीय बैंकमा निक्षेपका रुपमा राख्न पाउने गरी स्थायी निक्षेप सुविधा सुरु गरेको थियो । 

प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै जाने तर कर्जाको माग नबढेपछि बैंकहरुले अल्पकालीन उपकरणहरुमा लगानी गरेरै भए पनि आम्दानी गर्ने गरेका छन् । चालु आर्थिक वर्ष सुरु भएयता चैत २५ गते सोमबारसम्म बैंकहरुले १४६ खर्ब ९५ अर्ब ७५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन । बैंकहरुले सोमबारको सहित १०७ पटकमा उक्त रकम बराबरको एसडीएफ लिएका हुन् । 

खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा बैंकहरुलाई हरेक आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ दिन स्थायी निक्षेप सुविधा उपलब्ध गराउने प्रावधान छ । हिजो आइतबार सार्वजनिक बिदा परेहकाले आज सोमबार एसडीएफ उपलब्ध गराइएको हो । जुन चैत २६ गते मंगलबार नै परिपक्क हुनेछ । स्थायी निक्षेप सुविधामा जम्मा भएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइदैन् । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाइने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६७ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५४ खर्ब ७१ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.३८ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ३५ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।