शीर्षकहरू

ट्रेड टावरलाई ३९ करोड ७१ लाखको आईपीओ बिक्री गर्न बोर्डको अनुमति

ट्रेड टावरलाई ३९ करोड ७१ लाखको आईपीओ बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं।  ट्रेड टावर लिमिटेडले आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्न अनुमति पाएको हो । 

कम्पनीले २०७९ असार १४ गते बोर्डमा आईपीओ बिक्रीका लागि अनुमति मागेको थियो । आवेदन दिएको ३२ महिना पछि कम्पनीले स्वीकृति पाएको हो । कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

ट्रेड टावर लिमिटेडले गत वर्ष (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । जुन सन् २०२३ को भन्दा २३.३३ प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले ९ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो । 

सन् २००७ मा स्थापना भएकोे ट्रेड टावर लिमिटेड एक सार्वजनिक लिमिटेड कम्पनी हो । जुन लिजिङ, वित्तीय लगानी र पूर्वाधार विकास सम्बन्धी गतिविधिहरुमा संलग्न छ । 

टावरको पहिलो परियोजना ‘ट्रेड टावर थापाथली’ सन् २०११ को अप्रिलदेखि सञ्चालनमा आएको व्यावसायिक भवन हो । यसले दोस्रो परियोजना अन्तर्गत गौशालामा रहेको ट्रेड टावरलाई गौशालालाई पुनःविकास गरी होटेल क्रिस्टल पशुपति नामक ३ तारे होटल निर्माण गरेको छ । होटलले सन् २०२४ को मध्य-अप्रिलदेखि आंशिक रुपमा सञ्चालन सुरु गरेको छ ।