काठमाडौं । नेपालको बीमा क्षेत्रको नियमनका लागि सरकारले नेपाल बीमा प्राधिकरणको स्थापना गरेको हो । प्राधिकरणले बीमा कम्पनीलाई लाईसेन्स वितरण देखि कम्पनीको नियमन समेत गर्ने जिम्मेवारी पाएको छ । तर, नियमनको जिम्मा पाएका कर्मचारीले भनसुनका आधारमा आफना श्रीमान् र श्रीमतीलाई बीमा कम्पनीमा जागिर खुवाएपछि कम्पनीको नियमन प्रक्रिया प्रभावित हुने गरेको पाइएको छ ।
बीमा कम्पनी र प्राधिकरणका कर्मचारीका अनुसार प्राधिकरणको कार्यकारी निर्देशक देखि चालकसम्मका श्रीमान् श्रीमती बीमा कम्पनीमा कार्यरत छ । आफनो नियमनकारी निकायको पदको फाइदा उठाउँदै उनीहरुले बीमा कम्पनीमा आफना श्रीमान् श्रीमती भर्ती गराएका हुन् ।
बीमा कम्पनी स्रोतका अनुसार नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक सुशिल देव सुवेदीकी श्रीमती नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । यसअघि उनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल काम कार्यरत थिइन् । एलआईसीमा अधिकृत तहमा कार्यरत उनी सुवेदी प्राधिकरणको निर्देशक बनेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पद बढुवा भएर गएकी छिन् । सुवेदीले आफनो पदको दुरुपयोग गरी श्रीमतीलाई कम्पनीमा जागिर लगाएको प्राधिकरण स्रोतले बताएको छ ।
प्राधिकरणका निर्देशक कुन्दन सापकोटाको श्रीमती सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा कार्यरत छिन । अर्को निर्देशक धु्रब्र तिमिल्सिनाको श्रीमती पनि आईजीआई प्रडेन्सियल इन्स्योरेन्स कम्पनीका कार्यरत छिन् । उनकी जेठी श्रीमती शिखर इन्स्योरेन्समा कार्यरत छिन् ।
प्राधिकरणका उप निर्देशक विरोध भट्टीकी श्रीमती अहिले नेशनल लाइफ इन्स्यारेन्समा काम गर्छिन् । यस अघि उनी नेपाल लाइफ इन्स्यारेन्सको शाखा प्रमुख थिइन् । प्राधिकरणका चार्टड एकाउन्टेण्ट (उप निर्देशक) विरोध बाग्लेको श्रीमती सूर्यज्योति लाइफ इन्स्यारेन्स कम्पनीमा कार्यरत पहिला उनी नेपाल लाइफ इन्स्योरेन्समा काम गर्थिन ।
प्राधिकरणका अर्को उप निर्देशक शम्भु मिश्रकी श्रीमती नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्छिन् । सहायक निर्देशक सीता पाण्डेका श्रीमान सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्छन् । चाटर्ड एकाउन्टेण्ट (उप निर्देशक) सन्तोष कार्कीकी श्रीमती पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्छिन् । प्राधिकरणको बीमालेख शाखाका उप निर्देशक राम कोजुकी श्रीमती सूर्यज्योति इन्स्योरेन्स कम्पनीका काम गर्छिन् ।
सहायक निर्देशक टेकराज पाण्डेकी श्रीमती नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छिन् । सहायक निर्देशक दीपक ज्ञवालीकी श्रीमती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका काम गर्छिन् । प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सनाकी श्रीमती सूर्यज्योति लाइफ इन्स्योरेन्समा काम गर्छिन् । अर्का सहायक निर्देशक सुन्दर प्रसाद शर्माकी श्रीमती पनि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्छिन् । सहायक निर्देशक प्रदिप गौतमकी श्रीमती सूर्यज्योति लाइफ इन्स्यारेन्स कम्पनीमा काम गर्छिन् । चालक सानुकाजी कुँवरकी श्रीमती नेपाल लाईफमा काम गर्छिन् ।
प्राधिकरणका कर्मचारीका आफन्ती भर्ती केन्द्र बने बीमा कम्पनी
नेपालमा बीमा कम्पनीहरु नियमनकारी निकाय बीमा प्राधिकरणका आफन्तका भर्ती केन्द्र बनेका छन् । कम्पनीहरुमा कर्मचारीका श्रीमान् श्रीमती देखि दाजुभाई, दिदिबहिनी, छोराछोरी, भान्जाभान्जी लगायतका आफन्त भर्ती केन्द्र नै भएको कम्पनीका कर्मचारी बताउँछन् ।
बीमा कम्पनीमध्ये जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै कर्मचारीका आफन्ती भर्ती भएको स्रोतले बतायो । त्यस्तै निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरन्स कम्पनीमा धेरै कर्मचारीका आफन्ती भर्ती भएका छन् । त्यस्तैले प्राधिकरणमा यि दुई कम्पनीको दबदबा रहेको स्रोतले बतायो । ‘स्रोतका अनुसार यि कम्पनीले गरेको कुनै पनि काममा प्राधिकरणले कारवाही गर्दैन । किनभने यि कम्पनीमा कर्मचारीका आफन्त बढी छन्,’ उनले भने ।
बीमा कम्पनीमा भर्ती भएका प्राधिकरणका आफन्तीमध्ये अधिकांशको योग्यता पनि नपुग्ने कम्पनीका कर्मचारीहरु बताउँछन् । ‘योग्यता पनि पुग्दैन । भनसुनकै आधारमा जागिर खान्छन् । काम भन्दा बढी कम्पनीमा नै रवाफ देखाउछन्,’ स्रोतले बतायो । बीमा कम्पनीले क्षमता वृद्धि नहुनमा यो पनि मुख्य कारक रहेको उनले बताए । ‘कर्मचारीका आफन्तले नै कम्पनी भरिएका कारण क्षमता भएका व्यक्तिले समेत कम्पनीमा काम पाउँदैनन्,’ उनले भने ।
त्यस्तै कम्पनीको मार्केटिङग विभागमा अधिकांश क्लान्इटका आफन्तीहरु नै राखिन्छन् । ठूला ठूला क्लाइन्टहरुले कम्पनीलाई व्यवसाय दिए बापत आफना श्रीमतीलाई जागिर दिनुपर्ने शर्त राख्छन् । यसरी उनीहरुले व्यवसाय दिए बापत कम्पनीबाट कमिसन लिन्छन् भने आफन्तीलाई पनि कमिशन दिलाउँछन् । त्यसैले अधिकांश कम्पनीका कर्मचारीको योग्यता नै नपुगेको भेटिने एक कम्पनीका कर्मचारीले गुनासो गरे । ‘ठूला क्लाइन्टले कमिशन पाउने ठाउँमा आफना मान्छे राख्नुपर्छ भन्छ । त्यसैले हामीले काम गरेर खाने ठाउँ नै पाउँदैनन्,’ उनले भने ।
नैतिकताका आधारमा पनि जागिर लगाउन मिल्दैन : सरोकारवाला
नियमनकारी निकायका कर्मचारीले आफना श्रीमान् श्रीमती बीमा कम्पनीमा जागीर लगाउन पाइदैन भनेर कहि कतै लेख्नु नै नपर्ने प्राधिकरणका पूर्व अध्यक्ष प्रा.डा फत्त बहादुर केसी बताउँछन् । ‘यो त नैतिकताको विषय हो । कर्मचारीको स्वनियम, मूल्यमान्यता र आचारसंहिताको बिषय हो । सरकारी कर्मचारी भएर पारदर्शी, स्वच्छ र कर्तब्यनिष्ठ भएर काम गर्छु भन्ने हो भने स्वार्थ बाझिने गरी कम्पनीमा जागिर लगाउनु हुँदैन,’ उनले भने ।
केसीले आफनो कार्यकालमा प्रत्येक कर्मचारीलाई स्वघोषण गर्न लगाएको बताए । ‘मैले सबै कर्मचारीलाई आफना नातागोता कुन कम्पनीमा कार्यरत छन् । त्यसको स्वघोषणा गर्न लगाएको थिए । कम्पनीसँग पनि तथ्यांक मागेर रेकर्ड गरी अफिसको दराजमा राखेको थिए,’ उनले भने ।
कानुन अनुसार जागिर खानको लागि रोक्न नसकेपनि प्राधिकरणको काम कारवाहीमा प्रभाव परेको छ वा छैन भनेर हेर्नका लागि मैले रेकर्ड राखेको थिए । नैतिकताका आधारमा प्राधिकरणका कर्मचारीले आफना श्रीमान् श्रीमती आफैले नियमन गर्ने कम्पनीमा जागिर खुवाउन नहुने उनले बताए । यस्ता खालका प्रवृतिले कम्पनीको उत्पादकत्व घट्ने अन्तत कम्पनीको समग्र काम कारवाही नै प्रभावित हुने उनले बताए । प्राधिकरणका अध्यक्ष शरद ओझाले यस बिषयमा आफु अनभिज्ञ रहेको बताए ।
स्वार्थ बाझिने गरी आफना श्रीमान् श्रीमतीलाई कर्मचारीले जागिरमा लगाउन नहुने पूर्व कार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीले बताए । यस्तो खालको अभ्यासले कम्पनीमा आर्थिक विचलन ल्याउनु, कम्पनीका काम कारवाही प्रभावित हुने उनले बताए । त्यसैले नैतिकताका आधारमा पनि प्राधिकरणका कर्मचारीले कम्पनीमा आफना आफन्त जागिर खुवाउनु हुँदैन ।
प्राधिकरणका सुचना अधिकारी निर्मल अधिकारीले भने कर्मचारीले आफन्तले कम्पनीमा जागिर खुवाउन हुने नहुने भन्ने कुरा छलफलको बिषयमा हुन बताए । तर, प्राधिकरणको ऐन जागिर खान नहुने भन्ने कहि कतै लेखेको छैन । संविधानले नै सबैलाई श्रम गर्न पाउने अधिकार दिएको छ ।
बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले बीमा कम्पनी प्राधिकरणका आफन्तको लागि भर्ती केन्द्र नै भएको बताए । यसरी भर्ती गरिएका कर्मचारीले काम पनि गर्दैनन् । पावरको आडमा रवाफ मात्रै देखाउने गरेको उनले बताए । ‘उनीहरुसँग योग्यता हुन्थ्यो भने बीमा कम्पनीमा नै किन जागिर खान आउथे । जागिर खाने अन्य निकाय पनि छैन । आफनो गौरब र क्षमता देखाउन सक्ने हैसियताका भए उनीहरु बीमा कम्पनीमा जागिर नै खान आउँदैनथे,’ उनले भने ।
यता बीमा प्राधिकरणमा निर्देशक ध्रुव तिमिल्सिनाले आफ्नी श्रीमति खुला प्रतिस्पर्धाको आधारमा बीमा कम्पनीमा जागिरे भएको दाबी गरे । संविधानले श्रम गर्ने अधिकार दिएको छ । सोही आधारमा उनले आफ्नो क्षमताले बीमा कम्पनीमा जागीरे भएको बताए । 'मेरो श्रीमतीले बीमा कम्पनीमा जागिर गर्ने भएपनि मैले गर्ने नियमनमा कुनै प्रभाव परेको छैन् ।' उनले भने ।