काठमाडौं । औधषि उत्पादन गर्दै आएको टाईम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख ११ गते गैँडाकोटमा रहेको कम्पनीको उद्योग परिसरमा दिउँसो १२ बजे सभा आह्वान गरेको छ । उक्त सभामा बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ निष्कासन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने अजेन्डा रहेको छ । यस्तै, आईपीओ निष्कासनसम्बन्धी कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्तावहरु पनि सभाबाट पारित हुनेछन् ।
साथै कम्पनीले जारी पुँजीलाई ४२ करोड ९१ लाख ११ हजार ८ सय रुपैयाँबाट बढाएर ४६ करोड कायम गर्ने भएको छ । जारी पूँजी मध्ये ७९.३४७८ प्रतिशत संस्थापक क समूहका लागि र २०.६५२१ प्रतिशत सर्वसाधारण ख समूहलाई वितरण गर्ने प्रस्ताव समेत सभाबाट पारित गर्ने अजेण्डा राखेको छ ।
कम्पनीले आईपीओ जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको नियुक्त गरिसकेको छ ।
गण्डकी प्रदेशको नवलपुर जिल्ला, गैंडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स डब्लुएचओ जीएमपी प्रमाणित औषधि उत्पादक कम्पनी हो । जसको स्थापना १९९५ को अक्टोबरमा भएको थियो । स्थापना भएको २ वर्षपछि अर्थात् सन् १९९७ देखि आफ्नो व्यावसायिक उत्पादन र मार्केटिङ सुरु गरेको कम्पनीले विभिन्न थेराप्युटिक सेगमेन्टका २०० भन्दा बढी उत्पादनहरुको बजारीकरण गर्दै आएको छ ।
टाईम फार्मास्युटिकल्स लिमिटेडले गत वर्ष (२०२४) ९४ करोड ७० लाख रुपैयाँ बारबारको व्यापार गरेको थियो । जुन सन् २०२३ को भन्दा १५.२० प्रतिशत धेरै हो । सन् २०२३ यस कम्पनीले ८२ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
टाईमफार्मास्युटिकल्सले एन्टिकोल्ड एन्टिबायोटिक, सप्लिमेन्ट, एनाल्जेसिक र एन्टिडायबेटिक लगायतका औषधि उत्पादन गर्छ । सन् २०२४ को जुलाईको मध्यसम्ममा टाइमको प्रमुख शेयरधनीहरुमा अल्फा क्यापिटल लिमिटेडको १३ प्रतिशत, राजु कर्माचार्यको ९ प्रतिशत, झंकनाथ भट्टको ९ प्रतिशत र जी. नारायण बहादुर क्षेत्रीको नाममा ८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
शेयर बजारमा भित्रिंदै आधा दर्जन औषधि कम्पनी
हाल सञ्चालनमा रहेका ६ वटा औषधि कम्पनीहरुले आईपीओ जारी गर्ने घोषणा गरेका छन् । जसमध्ये ओम मेगाश्री फार्मास्युटिकल्सले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
जसमध्ये श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता , ५४ हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । यस्तै १४ लाख ७६ हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गरेको छ ।
हाल आईपीओ बिक्रीको लागि एक्वार्ड र सोपन फार्मास्युटिकल्सले नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेका छन् । एक्वार्डले १०० रुपैयाँ अंकित दरमा ७ लाख ६ हजार ९०९ कित्ता र सोपन फार्मास्युटिकल्सले ११ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति मागेका हुन् । त्यस्तै, एरो, कान्तिपुर र टाईम फार्मास्युटिकल्सले आईपीओ प्रस्तावसहित साधारण सभा डाकेका छन् ।