काठमाडौं । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरु डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ एनसीएचएलले रिटैल पेमेन्ट स्वीच मार्फत् हुने पाँच सय रुपैयाँसम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
कनेक्टआईपीएसकोे वेब÷मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्स्फर तथा कनेक्ट आईपीएस मार्फत मोबाईल वालेटमा गरिने क्यास ईन आउटलाई पूर्ण रुपमा निशुल्क गरिएको कम्पनीले जनाएका छ ।
चैत्र १९ गतेबाट उक्त व्यवस्था कनेक्ट आईपीएसमा कार्र्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरुले आफ्ना प्रणालीहरुमा आवश्यक व्यवस्था मिलाए पछी मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुने जनाइएको छ । आरपीएस मार्फत हुने अन्य च्यानलहरु र कारोबारहरुमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको २ रुपैयाँ र ८ रुपैयाँ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ । साथै उक्त कारोबार शुल्कमा कानून बमोजिमको भ्याट थप हुने व्यवस्था रहेको छ ।
आरपीएस मार्फत गत आर्थिक वर्षमा ५६ खर्ब ९७ अर्ब बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्षको आठ महिनामा ४५ खर्ब ५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ । हाल ५२ बैंक वित्तीय संस्थाहरुको मोबाइल बैंकिङ्ग एपमा आरपीएस तथा कनेक्ट आईपीएस बाट फण्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध रहेको छ भने १३ भन्दा बढि वालेटहरुमा बैंक खाताबाट क्यास ईन क्यास आउटको सेवा उपलब्ध रहेको छ ।