काठमाडौं । तीन वटै लघु जीवन बीमा कम्पनीले नियम विपरित पोलिसी टुक्राएर विक्री गरेको नेपाल बीमा प्राधिकरणले ठहर गरेको छ । कम्पनीहरुले पोलिसी टुक्राएर विक्री गरेको प्राधिकरणमा मौखिक उजुरी परेको थियो । उजुरी पछि प्राधिकरणको निरिक्षण टोली कम्पनीहरुमा पुगेकाे थियाे । उक्त निरिक्षण टोलीले पोलिसी टुक्राएर विक्री गरेको प्रतिवेदन प्रधिकरणकाे बाेर्डलाइ बुझाएको स्रोतले बताएको छ ।
लघु जीवन बीमा कम्पनीहरुले पाँच लाख बीमांक भन्दा माथिको बीमा गर्न पाउँदैनन् । कम्पनीहरुले सो सीमा भित्र रहेर बीमा पोलिसी विक्री गर्नुपर्ने पर्ने प्राधिकरणको व्यवस्था छ । तर, प्राधिकरणले गरेको व्यवस्थालाई वेवास्ता गर्दै कम्पनीले धमाधम पोलिसी टुक्राएको प्राधिकरणले निरीक्षण टोलीको प्रतिवेदनमा उल्लेख छ ।
निरीक्षण टोलीको प्रतिवेदन अनुसार लघु जीवन बीमा कम्पनीहरुले एउटै पोलिसी टुक्रा टुक्रा पारी एउटै व्यक्तिलाई विक्री गरेका छन् । उदाहरणको लागि कुनै एक व्यक्तिले १० लाख रुपैयाँ बीमांक बराबरको पोलिसी खरिद गर्न चाहन्छ । नियम अनुसार सो पोलिसी लघुजीवन बीमा कम्पनीले बिक्री गर्न पाउँदैनन् । त्यसैले लघुबीमा कम्पनीले सो बीमांकको पोलिसी विभिन्न पोलिसी टुक्रा पारी विक्री गरेको पाइएको हो ।
यसरी पोलिसी टुक्राएर बिक्री गर्नु प्राधिकरणको प्रावधान विपरीत भएको प्राधिकरणले स्रोतले जनाएको छ । ‘लघु जीवन कम्पनीहरुले गलत बाटो अपनाएर बीमा पोलिसी विक्री गर्ने उपाय निकाले । यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्नेछ । अन्तत भविष्यमा कम्पनीको व्यवसायलाई नै असर गर्नेछ,’ उनले भने ।
नेपालमा सात वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । जसमध्ये तीनवटा लघुजीवन बीमा कम्पनी छन् । जसमध्ये पोलिसी टुक्राएर विक्री गर्नेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स अगाडी रहेको स्रोतले जनाएको छ । ‘निरिक्षणको क्रममा लघु जीवन बीमा कम्पनीहरुले पोलिसी टुक्राएर बिक्री गरेको तथा एकै व्यक्तिको एक भन्दा धेरै बीमालेख जारी गरेको पाइएको छ । यस प्रकारको कार्य गर्नेमा क्रेष्ट माइक्रो अगाडी छ,’ स्रोतले बताए । गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफमा पनि यस प्रकारले पोलिसी प्रशस्तै विक्री भएको भेटिएको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले सुरुवातमा पोलिसी टुक्राएर विक्री गरेको स्वीकार गरे । ‘प्राविधिक त्रुटीका कारणले हामीले सुरुवातका दिनहरुमा टुक्राएर विक्री ग¥यौ,’ उनले भने । तर, एउटै व्यक्तिलाई म्यादी र सावधिक जीवन बीमा पोलिसी विक्री गर्न पाइने कि नपाइने भन्ने बिषयमा प्राधिकरण आफै अन्यौलमा भएको उनले बताए । ‘हामीले एउटै व्यक्तिलाई दुई खालको पोलिसी विक्री गरेका हौ । फरक फरक प्रकृतिको पोलिसी भएकाले हामीले एउटैलाई विक्री गरेका हौ । तर, प्राधिकरणले भने यसो गर्न नपाइने बताएको हो,’ उनले भनेर्, ठूला कम्पनीले भने एउटै व्यक्तिलाई धेरै खालका पोलिसी विक्री गर्ने गरेका छन् ।’
सरकारले न्यून आय भएका नागरिकलाई पनि बीमामा समावेश गर्न लघुबीमा कम्पनी सञ्चालनमा ल्याएको हो । सात वटा प्रदेशलाई केन्द्र तोकी सरकारले सात वटा कम्पनी सञ्चालन अनुमति दिएको हो ।
तर, कम्पनीहरुले भने उद्धेश्य विपरित व्यवसाय गर्दै आएका छन् । प्रदेशमा केन्द्रिय कार्यलय राखेपछि व्यवसाय भने काठमाडौमा केन्द्रित गर्न थालेका छन् । सानो रकम बीमा गर्ने भनिए पनि पोलिसी टुक्राएर भए पनि ठूलो कम्पनी बराबरको व्यवसाय गर्न थालेका छन् ।