शीर्षकहरू

विज्ञापन बजार व्यवस्थापनको लागि तत्काल नीति ल्याइने

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापनको लागि छिट्टै नीति ल्याउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय विज्ञापन संघको अधिवेशनलाई सम्बोधन गर्दै उनले विज्ञापन नीति पुरानो भएकाले परिणाम दिन नसकेको भन्दै नीति ल्याउनुपर्ने बताएका हुन् । 

‘बजार व्यवस्थापनको लागि सरकार तयारीका साथ लागिरहेको छ । राष्ट्रिय विज्ञापन नीति छिट्टै ल्याउनुपर्छ । हाम्रोमा विज्ञापन नीति नै छैन् । पुरानो विज्ञापन नीति छ । व्यवसायीले उठाएका समस्याहरुको सम्बोधन नीतिबाट हुनुपर्छ । नीतिमा नभएको कुरा ऐनमा ल्याउँदा विवाद भइहाल्छ ।

नेपालका अधिकाश मन्त्रालयमा नीति नै बनेका छैनन् । राजाका नीतिहरु छन्, पञ्चायतका, महेन्द्रका पोलिसी, विरेन्द्रका पोलिसी छन्, ज्ञानेन्द्रको हैन फेरी अहिलेसम्म त्यही ऐनमा चलिरहेका छन् । परिणाम दिन किन नसकेको भने नीति पुरानो परिस्थिती नयाँ, परिस्थितीले नया कानूनको माग गर्छ, पुरानो कानून अनुसारको नियमावली छ,’ उनले भने । 

उनले बजारसँग जोडिएका संस्थाहरु कमजोर भएको भन्दै विज्ञापन एजेन्सी र सञ्चार माध्यमहरु सशक्त हुनुपर्ने बताए । उनले भने, ‘हाम्रो विज्ञापन बजार घटिरहेका छन् । बजारसँग जोडिएका संस्थाहरु एकदमै कमजोर छन् । पहिलो हाम्रो अर्थतन्त्र बलियो हुनुपर्यौ, विस्तार हुनुपर्यो ।

दोस्रो हाम्रो विज्ञापन बजार फराकिलो हुनुपर्यो । यससँग जोडिएको विज्ञापन एजेन्सी, सञ्चार माध्यमहरु सशक्त, बलियो हुनुपर्छ । यसको लागि सरकारले स्पस्ट नीति बनाउनुपर्छ ।’ यस्तै उनले विज्ञापन संघ दुई भागमा बाडिदा काम गर्न असहज भएको भन्दै एकता भएको हेर्न चाहेको पनि बताए ।