काठमाडौं । शेयर बजारमा सुधारको संकेत देखिएको छ । गत मंगलबार ५८ अंकले ओरालो लागेको नेप्से बुधबार ३९ अंक तथा विहीबार ४१ अंकले बढेको छ । पछिल्लो दुई कारोबार दिनमा नेप्से ८० अंकले उकालो लागेपछि बजारले सुधारको संकेत देखाएको विश्लेषण हुन थालेको छ । विहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० बिन्दुमा पुगेको छ ।
बिहीबार नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैया ँबराबरको कारोबार भयो । यसदिन ३०९ स्टकको ५५ हजार ४४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशत बढेको छ । त्यस्तै, लगानी र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। जसको ५१ करोड १८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि करिब १० प्रतिशत बढेको छ ।