शीर्षकहरू

अर्थतन्त्रमा सुधारको संकेत, १८ ओटै औद्योगिक क्षेत्रको वृद्धिदर धनात्मक

अर्थतन्त्रमा सुधारको संकेत, १८ ओटै औद्योगिक क्षेत्रको वृद्धिदर धनात्मक

काठमाडौं । अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधि (साउन–पुस) को राष्ट्रिय लेखा अनुमानले अर्थतन्त्र सुधारात्मक लयमा रहेको देखाएको छ । 

तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १८ ओटै औद्योगिक क्षेत्रहरूको कुल मुल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलनागर्दा १८ ओटै औद्योगिक क्षेत्रहरूको वृद्धिदर धनात्मक रहेको उल्लेख छ ।

जसमध्ये यातायात तथा भण्डारण संग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (१४.२%) रहेको छ । खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ । यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै विद्युत तथा ग्यास क्षेत्रले ९.२ प्रतिशत वृद्धिदर कायम गरेको छ । त्यसैगरी, निर्माण सामग्रीहरुको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मुल्य अभिवृद्धि वृद्धिदर ९.१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । 

यसका साथै, उत्पादनमूलक उद्योगको कुल मुल्य अभिवृद्धि वृद्धिदर ७.४ प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ६.६ प्रतिशत हुने अनुमान गरिएको छ । ब्यापार क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत र सूचना तथा प्रविधिक्षेत्रको वृद्धिदर ४.९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ । धानको उत्पादनमा भएको वृद्धि साथै तरकारी, अमिलो जातको फलफूल तथा हिउदे फलफुल र पशु पंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको कार्यालयको भनाई छ । 

अर्कोतर्फ, अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रैमासिकमा कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि थप विस्तार भएको हो। 

त्यसैगरी, गत आर्थिक वर्षको दोश्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हून गएको प्रारम्भिक अनुमान छ । यस्तै, सार्वजनिक प्रशासन तथा (२.२४), स्वास्थ्य (३.१%), घरजग्गा कारोबार (३.१% ) लगायतका सेवा क्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहेको छ ।

null

मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा समीक्षा अवधिमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये १६ ओटाको उत्पादन बढेको देखिन्छ भने दुई ओटा औद्योगिक क्षेत्रको उत्पादन घटेको देखिन्छ  । 

यातायात तथा भण्डारण क्षेत्रमा सबैभन्दा बढी ६.४ प्रतिशत वृद्धि हुने र यो क्षेत्रलाई पछ्याउँदै वित्तीय तथा विमा क्षेत्रको वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान गरिएको छ । यो अवधिमा अर्थतन्त्र सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर सामान्य वृद्धि २.६ प्रतिशत रहन गएको छ भने समग्र अर्थतन्त्रको वृद्धिदर २.२ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । 

ऋणात्मक वृद्धि हुने दुई ओटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै विद्युत तथा ग्यांस क्षेत्रको ऋणात्मक वृद्धिदर (– ४.८%) र त्यसपछि आवास तथा भोजन क्षेत्रको ऋणात्मक वृद्धिदर (–२.७%) रहेको छ ।

null

आर्थिक वृद्धिदर ५.१ प्रतिशत, मौसमी प्रभाव समायोजित गर्दा २.२ प्रतिशत मात्रै 

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरिएको छ । यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात क्षेत्रमा भएको वृद्धि, निर्माण क्षेत्रमा भएको वृद्धि, कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मुल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन् । 

समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्र सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान छ । खासगरी यस अवधिमा शिक्षा क्षेत्र, आवास तथा भोजन क्षेत्र र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकोले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ ।

मौसमी प्रभाव समायोजित गर्दा चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रैमासिकमा २.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये २ ओटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि, यातायात तथा भण्डारण क्षेत्रमा भने अन्य क्षेत्रको तुलनामा धेरै वृद्धि हुने अनुमान गरिएको छ ।

null