शीर्षकहरू

राष्ट्र बैंकको उच्च निगरानीमा रहेका वित्तीय संस्थाको अवस्थामा देखिएन सुधार, केही संस्थाको खराब कर्जा ४० प्रतिशत माथि

राष्ट्र बैंकको उच्च निगरानीमा रहेका वित्तीय संस्थाको अवस्थामा देखिएन सुधार, केही संस्थाको खराब कर्जा ४० प्रतिशत माथि

काठमाडौं। नेपाल राष्ट्र बैंकले उच्च निगरानीमा राखेका एक दर्जन बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा खासै सुधार नभएको पाइएको छ । दर्जन बढी विकास बैंक तथा फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था दिन प्रतिदिन झनै कमजोर र खराब बन्दै गएपछि राष्ट्र बैंकले उच्च निगरानीमा राखेको हो । केन्द्रीय बैंकको पछिल्लो अध्ययनका अनुसार उच्च निगरानीमा रहेका केही विकास बैंकहरुकोे खराब अवस्थामा सुधार आएपनि फाइनान्स कम्पनीहरुको भने झनै बढेको पाइएको छ । 

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुस १० गते समस्याग्रस्त घोषणा गर्दै आफ्नो नियन्त्रणमा लिएपछि अन्य कमजोर संस्थाहरुलाई पनि उच्च निगरानीमा राख्दै आएको छ । राष्ट्र बैंकले पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक तथा सप्तकोशी डेभलपमेन्ट बैंक लगायतका दर्जन बढी संस्थालाई उच्च निगरानीमा राखेको छ । ति मध्ये केहीको अवस्था निकै विकराल देखिएपछि राष्ट्र बैंकले नियन्त्रणमा लिने विषयमा छलफल समेत थालेको थियो । तर, नेपाल राष्ट्र बैंकको हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागेकाले यसलाई यतिकै थाति राखिएको थियो । 

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था बैंकले प्रकाशित गरेको विवरणभन्दा अवस्था निकै खराब भएको पाइएपछि राष्ट्र बैंकले अरु बैंक तथा वित्तीय संस्थाको अवस्थाबारे पनि सूक्ष्मरुपमा अध्ययन गरेको थियो । जसमा झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात दोहोरो अंकमा रहेको छ । पहिलो त्रैमासको अध्ययनमा खराब देखिएका केही संस्थाहरुको अवस्थामा दोस्रो त्रैमासमा सामान्य सुधार आएको छ भने कतिपयको अस्वस्था भने झनै खराब देखिएको छ ।     

नेपाल राष्ट्र बैंकले गरेको दोस्रो त्रैमासको स्थलगत अध्ययन अनुसार पहिलो त्रैमासको तुलनामा खराब अवस्थामा रहेका ५ विकास बैंक र ३ फाइनान्स कम्पनीले खराब कर्जा घटाएका छन्  भने ५ फाइनान्स र ३ विकास बैंकको खराब कर्जा बढेको छ । दोस्रो त्रैमास अर्थात गत पुस मसान्तसम्मको विवरण अध्ययन गर्दा १० संस्थाको खराब कर्जा दोहोरो अंकमा रहेको छ । केही संस्थाको ४० प्रतिशत माथिसम्म पुगेको छ ।

नेपाल शेयर मार्केट, क्यापिटल मर्चेन्ट बैंकिङ र कर्णाली विकास बैंक राष्ट्र बैंकको नियन्त्रणमा रहेका छन्। दोस्रो त्रैमासको अध्ययनमा राष्ट्र बैंकको नियन्त्रणमा रहेका बाहेकमा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै ४७.५५ प्रतिशत रहेको छ । पहिलो त्रैमाससम्म यो बैंकको खराब कर्जा ४२.५३ प्रतिशत रहेको थियो । यस्तै, जानकी फाइनान्सको ४०.८९, पोखराको ३३.४४, समृद्धि फाइनान्सको १९.३०, गोर्खाज फाइनान्सको १४.४२ प्रतिशत, रिलायन्स फाइनान्सको १४.३१ प्रतिशत रहेको छ । सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा पनि दोहोरो अंकमा रहेको छ । 

पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा कर्णाली, नारायणी र कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा बढेको हो । यस्तै, नेपाल फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, गोर्खाज फाइनान्स र जानकी फाइनान्सको खराब कर्जा बढेको छ । सिन्धु, ज्योति, एक्सल, सप्तकोशी तथा शाल्पा विकास बैंकको खराब कर्जा घटेको छ । गुहेश्वरी, समृद्धि र पोखरा फाइनान्सले पनि सामान्य रुपमा खराब कर्जा घटाएका छन्। बैंक वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा धेरै भएपछि लाभांश वितरणलगायतका सुविधा रोकिन्छ । 

यस्ता छन खराब अवस्थाका विकास तथा फाइनान्स कम्पनीहरु 

नारायणी 
समस्याग्रस्त सूचीबाट २०७७ साउनमा हटेको नारायणी डेभलपेमन्ट बैंक निरन्तर राष्ट्र बैंकको उच्च निगरानीमा रहेको छ । बैंकमा नयाँ व्यवस्थापन आएपछि राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको थियो । चालु आवको दोस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा ४७.५५ प्रतिशत तथा प्राथमिक पुँजी कोष अनुपात ०.३२ प्रतिशत मात्र छ । बैंकले ५० करोड ३३ लाख निक्षेप संकलन गरेर ३६ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७३.३८ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ३७.३५ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३६.०४ प्रतिशत रहेको छ । 

सप्तकोशी

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सप्तकोशी डेभलमेन्ट बैंकको खराब कर्जा ११.४२ प्रतिशत तथा प्राथमिक पुँजी कोष अनुपात ८.६१ प्रतिशत छ । बैंकले ७ अर्ब ५८ करोड निक्षेप संकलन गरेर ५ अर्ब ९० करोड कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.८१ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ३१.८५ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३१.७६ प्रतिशत रहेको छ । 

सिन्धु विकास
गत पुस मसान्तसम्म सिन्धु विकास बैंकको खराब कर्जा अनुपात ९.४६ प्रतिशत तथा प्राथमिक पुँजी कोष ६.८३ प्रतिशत मात्र रहेको छ । बैंकले सो अवधिसम्ममा ५ अर्ब ६२ करोड निक्षेप संकलन गरेर ३ अर्ब ८४ करोड कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ६८.६७ प्रतिशत रहेको छ । बैंकको खुद तरलता ३६.४७ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३६.०४ प्रतिशत रहेको छ । 

null

राष्ट्र बैंकका अनुसार राष्ट्रियस्तरका विकास बैंकले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार ८.५ प्रतिशत पुँजी कोष कायम गर्नुपर्छ । अन्य विकास बैंकले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २००७ अनुसार पुँजीकोष अनुपात ६ प्रतिशत कायम गर्नुपर्छ । माथि उल्लेखित विकास बैंकहरुमा ज्योति विकास बैंक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । त्यस्तै, पुँजी कोष अनुपात क्षेत्रीयस्तरका विकास बैंकको ८ प्रतिशत र राष्ट्रियस्तरका विकास बैंकको ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । पुँजी कोष अनुपातसम्बन्धी निर्देशिका पालना नगर्ने बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्ने व्यवस्था छ ।

जानकी फाइनान्स 

केन्द्रीय बैंकका अनुसार चालु आवको दोस्रोे त्रैमासमा जानकी फाइनान्सको खराब कर्जा ४०.८९ प्रतिशत छ । यस अवधिमा फाइनान्सको प्राथमिक पुँजी कोष अनुपात ०.१६ प्रतिशत नकारात्मक रहेको छ । फाइनान्सले गत पुससम्म ४ अर्ब ५५ करोड निक्षेप संकलन गरी ३ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको कर्जा निक्षेप अनुपात ६७.५८ प्रतिशत रहेको छ । जसको खुद तरलता ४८.३४ प्रतिशत तथा वैधानिक तरलता अनुपात ४९.९० प्रतिशत रहेको छ । 

पोखरा फाइनान्स 

चालु आवको पुससम्ममा पोखरा फाइनान्सको खराब कर्जा अनुपात ३३.४४ प्रतिशत रहेको छ । जसको प्राथमिक पुँजी कोष अनुपात ३.०८ प्रतिशत नकारात्मक रहेको छ । फाइनान्सले १० अर्ब ६० करोड निक्षेप संकलन गरेर ७ अर्ब ९८ करोड कर्जा लगानी गरेको छ । यसको कर्जा निक्षेप अनुपात ६९.८७ प्रतिशत रहेको छ । जसको खुद तरलता ३३.५४ प्रतिशत तथा वैधानिक तरलता अनुपात २९.९७ प्रतिशत रहेको छ । 

समृद्धि फाइनान्स 

चालु आवको पुससम्ममा फाइनान्सको खराब कर्जा कुल कर्जाको १९.३० प्रतिशत छ, जसको प्राथमिक पुँजी कोष अनुपात ९.९१ प्रतिशत रहेको छ । फाइनान्सले गत पुससम्म २ अर्ब ६४ करोड निक्षेप संकलन गरी १ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस  फाइनान्सकोे कर्जा निक्षेप अनुपात ७१.३१ प्रतिशत रहेको छ । जसको खुद तरलता ३९ प्रतिशत तथा वैधानिक तरलता अनुपात ३१.७५ प्रतिशत रहेको छ । 

गोर्खाज फाइनान्स

चालु आवको दोस्रो त्रैमासमा गोर्खाज फाइनान्सको खराब कर्जा १४.४२ प्रतिशत छ । जसको प्राथमिक पुँजी कोष अनुपात १०.०३ प्रतिशत छ । फाइनान्सले गत पुससम्म ९ अर्ब ९४ करोड निक्षेप संकलन गरी ७ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको कर्जा निक्षेप अनुपात ७६.१८ प्रतिशत रहेको छ । जसको खुद तरलता ३४.२८ प्रतिशत तथा वैधानिक तरलता अनुपात २६.१२ प्रतिशत रहेको छ । 

सेन्ट्रल फाइनान्स

यसैगरी सेन्ट्रल फाइनान्सको पनि खराब कर्जा ११.९४ प्रतिशत रहेको छ । जसको प्राथमिक पुँजी कोष अनुपात १५.८३ प्रतिशत छ । फाइनान्सले गत पुससम्म ७ अर्ब ७२ करोड निक्षेप संकलन गरी ४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सकोे कर्जा निक्षेप अनुपात ६३.०१ प्रतिशत रहेको छ । जसको खुद तरलता ४५.९२ प्रतिशत तथा वैधानिक तरलता अनुपात ४०.५४ प्रतिशत रहेको छ । 

null

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २००७ अनुसार पुँजीकोष अनुपात ६ प्रतिशत तथा पुँजी कोष अनुपात ८ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था रहेको छ । वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकको प्राथमिक पुँजी कोष ८.५ प्रतिशत तथा पुँजी कोष अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । 

न्यूनतम पुँजी कोष अनुपात सीमाको ७५ प्रतिशतभन्दा धेरैले कम भएमा संस्थालाई समस्याग्रस्त घोषणा गरी कारबाही गर्ने व्यवस्था छ । समस्याग्रस्त घोषणा गरेको ६ महिनासम्म पनि तोकिएको न्यूनतम पुँजी कोष अनुपात कायम नभएमा बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिसन प्रकृया सुरु गर्ने वा लाइन्सेन्स रद्द गर्ने वा खारेजीको प्रकृया सुरु गर्ने व्यवस्था छ ।