काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित गरेको छ । बोर्डको बुधबार बसेको बोर्ड बैठकले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका स्वीकृत गरेको हो । उक्त निर्देशिका कार्यान्वयनमा आएसँगै ब्रोकरहरुलाई मर्जरको लागि बाटो खुला हुनेछ । धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई पुँजी वृद्धिको लागि दिएको समय २०८२ असारसम्म रहेको छ ।
नेपाल धितोपत्र बोर्डले तोकेको चुक्ता पुँजी कायम गर्न धितोपत्र दलाल (स्टक ब्रोकर कम्पनी) हरुले यसअघि नै बोर्डमा कार्ययोजना पेश गरिसकेका छन् । बोर्डमा कार्ययोजना पेश गरेका ३७ ब्रोकर कम्पनीमध्ये २४ वटाले मर्जर, बोनश र राइटको विकल्प रोजेका छन् ।
नयाँ लाइसेन्स लिएका ४२ वटा ब्रोकर कम्पनीले पहिले नै पुँजी कायम गरि सकेका छन् । पुराना ५० वटा कम्पनीमध्ये १२ वटाले पुँजी कायम गरी सकेको छन् । पुँजी कायम गर्न नसक्ने कम्पनीको हकमा बोर्डले मर्जरमा जान सक्ने विकल्प दिएको थियो ।
नेपाल धितोपत्र बोर्डले २०७९ भदौमा धितोपत्र कम्पनीलाई २०८२ असारमसान्तसम्ममा पुँजी थप गर्न निर्देशन दिएको थियो । बोर्डले सिमित खालको व्यवसाय गर्ने कम्पनीलाई २० करोड रुपैयाँ पुँजी थप गर्न निर्देशन दिएको छ । यस अघिको व्यवस्था अनुसार ब्रोकर कम्पनीको पुँजी २ करोड तोकिएको थियो ।
त्यस्तै, पूर्व कार्य गर्ने कम्पनीलाई सोही अवधि भित्रमा ६० करोड रुपैयाँ पुर्याउन निर्देशन दिइएको छ । यस अघि यस्ता कम्पनीहरुको पुँजी ५ करोड रुपैयाँ थियो । बोर्डले एकै पटक १० गुणा बढाएर पुँजी वृद्धि गर्न दिएको निर्देशन आफैमा व्यवहारिक नभएको ब्रोकरहरुको गुनासो गरेका छन् । त्यस्तै धितोपत्र व्यापारीका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।
यसअघि बोर्डले २०७४ मा धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरेर ब्रोकर कम्पनीको २० लाख रुपैयाँ चुक्ता पुँजीलाई २ करोड कायम गरेको थियो । सोही पुँजीलाई बोर्डले २०७९ भदौमा २० करोड बनाएको थियो । सेबोनले नयाँ ब्रोकरलाई सेवाअनुसार तीन तहमा विभाजन गरी २० करोडदेखि डेढ अर्ब पुँजी तोकेर लाइसेन्स दिँदै पुरानालाई पनि ३ वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको हो । बोर्डले तोकेको अवधिमा आगामी असारमसान्तसम्ममा सकिदैछ ।
बोर्डका अनुसार कुमारी सेक्युरिटीज, अरुण सेक्यूरिटीज, मार्केट सेक्युरिटीज, जेएफ सेक्यूरिटीज, आशुतोष ब्रोकरेज, मल्ल एण्ड मल्ल स्टक ब्रोकर, थ्राइभ सेक्युरिटीज र एबिसी सेक्युरिटीजले चुक्ता पुँजी जुटाउनका लागि तिन वटै विकल्प रोजेका छन् । त्यस्तै, सिल्पा, मिदास, सिप्रबी, स्वेता, एशियन, श्रीकृष्ण, कोहिनूर, सेक्यूर्ड, सुमेरु, क्रियटिभ, इन्भेष्टमेन्ट, सेवा, श्रीहरी, आर्यातारा र दिब्या सेक्युरिटीजले पनि पुँजी जुटाउनका लागि मर्जर, बोनश र राइट शेयर वितरण गर्ने कार्य योजना पेश गरेका छन् ।
बोर्डमा कार्ययोजना पेश गरेका ब्रोकर कम्पनीमध्ये अग्रवाल सेक्युरिटीजले पुँजी कायम भएको जनाएको छ । त्यस्तै, अन्य १२ वटा कम्पनीले भने आर्थिक बर्षको अन्त्यसम्ममा पुँजी कायम गर्ने योजना पेश गरेका छन् । ओपनल सेक्युरिटी इन्भेण्टमेन्टले, प्रज्ञान, नेपाल स्टक, प्रिमो, नेपाल इन्भेन्टमेण्ट एण्ड सेक्युरिटी, त्रिशुल सेक्युरिटीज, लिन्च, साउथ एशिया, निभ, क्रिस्टल, सुन्धारा र भृकुटी सेक्युरिटीजले कार्ययोजनामा विकल्पको भने छनौट गरेका छन् ।