शीर्षकहरू

सामुदायिक विद्यालयले आफ्नो सुविधा संस्थागत विद्यालयलाई प्रदान

सामुदायिक विद्यालयले आफ्नो सुविधा संस्थागत विद्यालयलाई प्रदान

भैरहवा । रुपन्देही जिल्लाको मर्चबार क्षेत्रमा पर्ने कोटहीमाइ गाउँपालिका वडा नं. ५ मा रहेको एक सामुदायिक विद्यालयले आफ्नो सुविधा संस्थागत विद्यालयलाई प्रदान गरेको छ । लुम्बिनी प्रदेश सरकारले विद्यार्थीको सुविधा वृद्धि गर्ने उद्देश्यले मर्चवारी आदर्श माध्यमिक विद्यालयलाई अनुदानस्वरूप उपलब्ध गराएको बस विद्यालय प्रशासनले विद्यालयकै हितमा प्रयोग गर्नुको सट्टा निजी बोर्डिङ स्कुललाई भाडामा दिएको  जनाएको छ ।

स्थानीय अभिभावक तथा विद्यार्थीहरूले बस ग्रामीण क्षेत्रका विद्यार्थीहरूको लागि यातायात सुविधाका रूपमा प्रयोग गरिनुपर्ने भए पनि विद्यालय प्रशासनले अनधिकृत रूपमा निजी संस्थासँग सम्झौता गरी व्यावसायिक प्रयोजनमा प्रयोग गरिरहेको छ ।

यस घटनाले विद्यार्थीहरूलाई नोक्सान पु¥याउनुका साथै सरकारी अनुदानको दुरुपयोगको गम्भीर विषय उठाएको छ । स्थानीयहरुले  छानबिन गरी दोषी उपर आवश्यक कारबाही हुनु पर्ने बताएका छन् । श्री मर्चवार आदर्श माध्यमिक विद्यालयको विद्यालय प्रशासनले आर्थिक अभावका कारण बस सञ्चालन गर्न नसकिएको दाबी गरे पनि स्थानीयवासीहरूले विद्यालयसँग प्रशस्त आम्दानीका स्रोत रहेको बताएका छन् । 

मर्चवार आदर्श माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ कक्षा सम्म पढाइ हुन्छ । विद्यालयमा १ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत छन् । ४० जना शिक्षक, २ जना पियन, २ जना सुरक्षा गार्ड समेत रहेको उक्त विद्यालय करिब २ बिगाहा क्षेत्रफलमा रहेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको बुुद्ध इङ्लिस बोर्डिङ स्कुुललाई भाडामा सञ्चालन गर्न दिएको विद्यालय प्रशासनले बताएको छ । विद्यालय प्रशासनले बुुद्ध इङ्लिस बोर्डिङ स्कुुल बताए पनि उक्त गाडी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ कचरिहवा रुपन्देहीमा रहेको विराट स्मार्ट स्कुलले सञ्चालन गरेको छ ।

 मासिक २५ हजार भाडा दिने गरि बुुद्ध इङ्लिस बोर्डिङ स्कुुललाई सञ्चालनमा दिएको भनिएको विद्यालय प्रशासनको भनाइ गलत सावित भएको छ । विरात स्मार्ट स्कुलले बेलुका गाडी मर्चवार आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा राख्ने गर्छ । बिहानै बच्चा बोक्दै उक्त गाडी लुम्बिनी पुुग्छ । बेलुका काम सकिएपछि उक्त गाडी मर्चवारमै आउँछ ।

स्थानीय राज नारायण गिरीले विद्यालय अगाडि रहेका सटरहरूमध्ये आफूले पनि त्यहाँ व्यवसाय गरिरहेको र त्यहाँ उठ्ने भाडा विद्यालय प्रशासनले नै लिने गरेको बताउँछन् । आफुहरुले नियमित भाडा तिरिरहेको हुदा विद्यालयले आम्दानीको स्रोत छैन भन्ने सान्दर्भिक नरहेको बताए ।

विद्यालय प्रशासनले सार्वजनिक रूपमा बस सञ्चालनका लागि खर्च धान्न नसक्ने भन्दै निजी विद्यालयलाई भाडामा दिनु परेको प्रधानाध्यापक धनञ्जय कुमार त्रिपाठीले बताए । बोल्न नचाहेका प्रधानाध्यापक त्रिपाठीले भाडाबाट विद्यालयको हेरचाहका लागि दुईजना सेक्युरिटी गार्ड राखेको बताए । उनले विद्यालयको खर्चले बस सञ्चालन गर्न नसकेपछि विद्यालय व्यवस्थापन समिति र कोटहीमाइ गाउँपालिका वडा नं. ५ का अध्यक्ष सञ्जय कुमार सैनीको रोहबरमा भाडामा लगाएको बताए ।

विद्यालयले आम्दानी गर्ने गरी भाडामा लगाएको बताए पनि विद्यालयको खातामा आम्दानी नभएको स्थानीयको आरोप छ । विद्यालयका प्रधानाध्यापकले आम्दानी नभएको बताइ रहँदा स्थानीयले विद्यालयले राम्रो आम्दानी गरिरहेको बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिका कामचलाउ अध्यक्ष शिवदास यादवले आफू सञ्चारजत सँग नबोल्ने बन्दै विद्यालय हाताबाट बाहिरिए । विद्यालय अगाडि रहेका १२–१५ वटा सटर भाडामा सञ्चालनमा छन् । जसबाट मासिक  रुपमा आम्दानी हुन्छ । कोटहीमाइ गाउँपालिका कार्यालय अगाडि रहेको पोखरीबाट पनि विद्यालयले राम्रो आम्दानी गरिरहेको स्थानीय बताउँछन् ।

स्थानीयहरू विद्यालय प्रशासनको निर्णयप्रति आक्रोशित छन् । स्थानीय रामकान्त मौर्याले विद्यालयसँग प्रशस्त आम्दानीका स्रोत हुँदा पनि विद्यार्थीहरूको हकमा आएको बसलाई निजी व्यवसायका लागि प्रयोग गर्नु सरासर गलत रहेको बताए ।उनले यस्तो अनैतिक क्रियाकलाप हुनुको पछाडि विद्यालय व्यवस्थापन समितिको ठूलो हात रहेको बताए ।

स्थानीय गुुरुवचन यादवले प्रदेश सरकारले टाढाटाढाबाट आउने विद्यार्थीहरूको सहजताका लागि बस प्रदान गरेता पनि विद्यालयले त्यो विद्यार्थीको निम्ति नभएर भाँडामा सञ्चालन गर्नुमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयका प्रधानाध्यापकको मिलेमतो रहेको बताए । विद्यालयले बस सञ्चालन गर्दा आउने खर्च धान्न सक्दैनथ्यो भने गाउँपालिकासँग सहकार्य गर्नुपर्ने यादव बताउँछन् । विद्यालय प्रशासनले गाउँपालिकासँग सहकार्य नगरी उक्त बस भाडामा दिएको बताए ।