काठमाडौं । सरकारले विकास ऋणपत्रको बोलकबोल मार्फत थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यो आर्थिक वर्षमा सरकारले २ खर्ब ९ अर्ब रुपैयाँ विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा हालसम्म १ खर्ब ९९ अर्ब उठाइसकेको छ । अब विकास ऋणपत्रको बिक्री पश्चात १० अर्ब उठाएपछि सरकारको लक्ष्य पुरा हुनेछ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज बुधबार सो रकम बराबरको आन्तरिक ऋण उठाउन विकास ऋणपत्र २०८७ नामको ऋणपत्र जारी गरेको छ । सरकारले ६ वर्ष अवधिका लागि उक्त ऋण लिन लागेको हो ।
विकास ऋणपत्र २०८७ को चैत १३ गते बुधबार विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने चैत १४ गते विहीबार निष्कासन हुने जनाइएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।
ऋण बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, अन्य संगठीत संस्था र नेपाली नागरिकले दिन पाउनेछन् । सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । ६ वर्षे अवधिको ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्ने कार्यालयले जनाएको छ ।
इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् । सरकारलाई दिएको यो ऋणको प्रमाणपत्र अर्थात् ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाइनेछ भने धितोपत्रको दोस्रो बजारमा पनि खरिदबिक्री हुनेछ ।
चालु आर्थिक वर्षको हालसम्म सरकारले २ खर्ब ८१ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण लिइसकेको छ । जसमध्ये १ खर्ब ९९ अर्बको विकास ऋणपत्र हो भने ८० अर्बको ट्रेजरी बिल्स हुन् । साथै २ अर्बको नागरिक बचतपत्र तथा ५० करोडको वैदेशिक रोजगार बचतपत्र समेत बिक्री गरेको छ । बुधबार जारी हुनेसमेत गरेर सरकारले लिएको आन्तरिक ऋणको आकार २ खर्ब ९१ अर्ब ५० करोड पुग्नेछ । आज बोलकबोल हुने विकास ऋणपत्रको बिक्री पश्चात यसवर्ष विकास ऋणपत्र मार्फत सरकारले उठाउने आन्तरिक ऋणको लक्ष्य पुरा हुनेछ । सरकाले यो आर्थिक वर्षको २ खर्ब ९ अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने लक्ष्य राखेको छ ।
सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब १५ अर्ब तथा दोस्रो त्रैमासमा ६६ अर्ब ५० करोड आन्तरिक ऋण उठाइसकेको छ ।चालु आवको तेस्रो त्रैमास अर्थात माघदेखि चैत मसान्तसम्म सरकारले १ खर्ब १३ अर्ब ५० करोड आन्तिरक ऋण उठाउने लक्ष्य राखेको छ । चौथो त्रैमासमा ३५ अर्बमात्र आन्तरिक ऋण उठाउने कार्यतालिका छ ।
बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य पुँजी) थुप्रिएपछि सरकारी ऋणपत्रको ब्याजदरमा समेत धमाधम गिरावट आइरहेको छ । अल्पकालीन निक्षेप तथा ट्रेजरी बिलको ब्याजदर समेत घटिरहेको समयमा दीर्घकालीन ऋणपत्रको ब्याजदर घटेपछि सरकारलाई भने राहत हुने देखिएको छ । अहिले विकास ऋणपत्रहरुको औसत ब्याजदर ५ प्रतिशत मुनि नै रहेको छ ।
सरकारले यसअघि गत चैत ६ गते बोलकबोल गरेको १० अर्ब रुपैयाँ बराबरको ११ वर्ष अवधिको विकास ऋणपत्रको ब्याजदर ५ प्रतिशत कायम भएको थियो । चालु आवको सुरु भए यता सरकारले ३ वर्षेदेखि ११ वर्षे अवधिका २० वटा विकास ऋणपत्र निष्कासन गरिसकेको छ । जसबाट सरकारले २ खर्ब बराबरको आन्तरिक ऋण उठाएको छ । चालु आवमा निष्कासन भएका विकास ऋणपत्रहरुको औसत ब्याजदर ४.७३ प्रतिशत रहेको छ । साथै, ट्रेजरी बिलको ब्याजदर पनि न्यून रहेको छ ।
चालु आर्थिक वर्षमा बैंकहरुमा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा सरकारी ऋणपत्रहरुको समेत ब्याजदर घटेको हो । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा मार्फत तरलता व्यस्थापन गर्दै आएको छ ।