काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेकै भोलिपल्ट शेयर बजारमा भिषण पहिरो गएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइँटेललाई नेप्सेको सिईओ नियुक्त गरेको थियो । शेयर बजार क्षेत्रमा खासै काम नगरेका व्यक्तिलाई सिईओ छनौट गरेपछि लगानीकर्ताहरुको मनोबल खस्किदा शेयर बजारमा ठूलो पहिरो गएको हो ।
त्यस्तै, सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाइ हटाउने निर्णय गरेपछि सरकारविरुद्धको आन्दोलन झनै चकिर्ने र मुलुकको राजनीति थप अन्योलग्रस्त बन्ने खतरा बढेकाले पनि यसको असर शेयर बजारमा देखिएको हो । घट्दो क्रममा रहेको बजारमा अस्थिरतातर्फको राजनैतिक माहोलले झनै दबाब सिर्जना गरेको लगानीकर्ताको बुझाई छ । जसले गर्दा मंगलबार शेयर बजार झनै फराकिलो अंकले घटेको हो ।
मंगलबार नेप्से सूचक ५८.०५ अंकले घटेर २५८२.७३ मा आएको छ । ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको बजारमा सबै समूहका गिरावट आएको छ ।
आज नेप्सेमा सूचीकृत १३ वटै समूहमा राताम्मे रहे । फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.४१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.४० प्रतिशत, विकास बैंक ३.२६,होटल २.८३, हाईड्रो ३.०८,लगानी १.९८, जीवन बीमा २.२४, उत्पादन तथा प्रशोधन १.४९,लघुवित्त २.३०,म्युचुअल फण्ड ०.५१,निर्जीवन बीमा २.३८, अन्य १.६४ र व्यापार समूह १.६० प्रतिशतले घट्यो ।
हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड २० लाख बढीको कारोबार भयो । मंगलबारको बजारमा एनसीसी डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक अर्थात ४.५२ प्रतिशतले बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य आज सर्वाधिक अर्थात ९.९७ प्रतिशतले घट्यो ।