शीर्षकहरू

चौधरीको डिजाइनमा गभर्नरको दौडमा सामेल भए ढुङ्गाना, नबिलको सिईओमा ज्ञवालीको चर्चा

चौधरीको डिजाइनमा गभर्नरको दौडमा सामेल भए ढुङ्गाना, नबिलको सिईओमा ज्ञवालीको चर्चा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा सामेल हुन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । नबिल बैंकका मुख्य लगानीकर्ता विनोद चौधरीको डिजाइन बमोजिम ढुंगाना गभर्नरको दौडमा सामेल भएको चर्चा चलेको छ ।   

नबिल बैंकमा अर्बपति व्यवसायी विनोद चौधरी र उनको परिवारको मुख्य शेयर हिस्सा रहेको छ । उनै चौधरीले ढुंगानालाई टप थ्रि मा सिफारिस गराउने आश्वासन दिएपछि ढुंगानाले राजीनामा दिएका हुन् । ढुंगानाले आइतबार बैंकको सीईओबाट राजीनामा दिएको भएपनि झण्डै २ सातादेखि कार्यालय आउन छोडेको बैंक स्रोतले आर्थिक न्युजलाई जानकारी दिएको छ । नेपाली कांग्रेसको तर्फबाट सांसद रहेका चौधरी समेत ढुंगाानालाई गभर्नर बनाउने दौडमा लागेकाले उनलाई बलियो प्रत्याशीको रुपमा हेरिएको छ ।

सोमबार मात्र सरकारले गभर्नर सिफारिस समितिको टुंगो लगाएको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको सिफारिस समितिमा अर्थशास्त्री विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका छन्। उक्त समितिले अब ३ जनाको नाम सिफारिस गर्नेछ । जसमा डेपुटी गभर्नरमध्ये १ जनाको नाम अनिवार्य सिफारिस गर्नैपर्ने व्यवस्था छ । जसअनुसार डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रमध्ये एक जनाको नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ ।

हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो।  गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । २०७६ चैत २४ गते मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १७औं गभर्नरका रुपमा महाप्रसाद अधिकारीलाई ५ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो।

कार्यालय आउनै छाडेर करिब दुई साता शक्तिकेन्द्रहरुलाई रिजाउने कसरतमा लागेका ढुंगानालाई टप थ्रि मा सिफारिस गराइ छाड्ने चौधरीको आश्वसनले उनी उत्साहित रहेका छन् । उनको अनुभव र योग्यता पनि गभर्नरको दाबेदारीका लागि प्रयाप्त रहेको छ । यसपाली गभर्नर कांग्रेसको कोटामा रहेकाले पनि उनको सम्भावना बढेको बताइएको छ । 

राष्ट्र बैंकका पूर्वकर्मचारीसमेत रहेका ढुंगाना चार्टर्ड एकाउन्टेण्ड हुन्। उनी राष्ट्र बैंक छाडेर तत्कालीन एनसीसी बैंक हुँदै नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए। समस्याग्रस्त भइसकेको नेपाल बंगलादेश बैंकलाई सुधार गर्न बंगलादेशी लगानीकर्ता ल्याउन उनले महत्वपूर्ण भूमिका खेलका थिए। उनलाई गभर्नर बनाउन बैंकरहरू तथा निजी क्षेत्रले पनि जोडबल गरिरहेका छन्। 

ढुङ्गानाले राजीनामा दिएसँगै अब नबिल बैंकको सीईओ को बन्छ भन्ने चर्चा समेत चल्न थालेको छ । हाल बैंकको सिनियर डेपुटी सीईओका रूपमा काम गरिरहेका सुजित शाक्य र सिनियर डेपुटी सीईओ भएर काम गरिरहेका मनोज ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । बैंक स्रोत अनुसार चौधरी ज्ञवालीलाई सिईओ बनाउने तयारीमा रहेका छन् । ज्ञवालीलाई सीईओ बनाउनकै लागि गत पुसमा मात्रै वरिष्ठ डेपुटी सीईओमा बढुवा गरेर बाटो खुला गरेको भन्ने चर्चा छ ।

गभर्नर पद हत्याउनका लागि अहिले विभिन्न व्यक्तिहरु राजनीतिक शक्ति केन्द्र धाइरहेका छन् । शक्ति केन्द्रमा धाउनेहरुमा नेपाल राष्ट्र बैंककै बाहलवाला डेपुटी गभर्नरहरुदेखि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, पूर्वसचिवहरु र केही अर्थशास्त्रीहरुका नामसमेत चर्चामा रहेका छन् ।