काठमाडौं । हाल देशमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल १ खर्ब ३८ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । यो सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क हो ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बीमाशुल्क संकलन १०.५६ प्रतिशतले बढेको हो । बीमा कम्पनीहरुको गत आवको फागुनसम्म १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । बीमा व्यवसायको आकारसँगै पहुँच विस्तार भएपनि बीमाको दायरा भने खुम्चिएको छ । प्राधिकरणका अनुसार एक वर्षको अवधिमा बीमाको दायरा १७.०४ प्रतिशतबाट १६.५७ प्रतिशतमा खुम्चिएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमध्ये जीवन बीमा कम्पनीहरुले १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । गत वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ११ प्रतिशत तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८.९१ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको फागुनसम्म जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब २६ करोड ८४ लाख बीमाशुल्क संकलन गरेका थिए । यो अवधिमा जीवन बीमा कम्पनीहरुले २३ अर्ब ८० करोड ८० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् भने बीमा लेख नवीकरणबाट ८५ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । गत आवको फागुनको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २७.१४ प्रतिशत तथा नवीकरण शुल्क ७.२२ प्रतिशतले बढेको हो ।
बीमा कम्पनीहरुले आफ्नो व्यवसाय तथा पहुँच विस्तारका लागि शाखा संजालसँगै कर्मचारी बढाउँदै लगेको अनुपातमा बीमाको पहुँच विस्तारमा भने सामान्य सुधार देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको बीमा क्षेत्रको विवरणमा पछिल्लो १ वर्षमा बिमा कम्पनीहरुको कार्यालय संख्या २.०५ प्रतिशत तथा कर्मचारी संख्या ४.६७ प्रतिशतले बढेको छ ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको तथ्यांक अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या ४४.१७ प्रतिशत मात्रै छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३.१६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ ।
प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमा बाहेक गत फागुनसम्म १६.५७ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएको देखिन्छ । अघिल्लो वर्षको फागुनसम्म १७.०४ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए । म्यादी, लघुम्यादी बीमालेखसहित भने फागुनसम्म ३६.२९ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ ।
फागुनसम्म कुल सक्रिय जीवन बीमालेखको संख्या भने १ करोड ४२ लाख ३८ हजार ६४८ वटा छन् । यस्तै कुल सक्रिय निर्जीवन बीमालेखको संख्या २० लाख ७३ हजार ४६३ रहेको छ । समीक्षा अवधिमा सक्रिय जीवन बीमालेखको संख्या २.१२ प्रतिशत तथा कुल निर्जीवन बीमालेखको संख्या ५.८२ प्रतिशतले बढेको छ । तर यस अवधिमा कुल जारी भएका जीवनबीमालेखको संख्या भने १७.०६ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ ।