शीर्षकहरू

वित्तीय क्षेत्रबाहिर ७ खर्ब ३७ अर्ब, कति छ राष्ट्र बैंकको ढुकुटीमा पैसा ?

वित्तीय क्षेत्रबाहिर ७ खर्ब ३७ अर्ब, कति छ राष्ट्र बैंकको ढुकुटीमा पैसा ?

काठमाडौं।  वित्तीय क्षेत्रभन्दा बाहिर झण्डै साढे ७ खर्ब रकम चलनचल्तीमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकअनुसार चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) ७ खर्ब ३७ अर्ब ३९ करोड रहेको देखिएको छ । 

राष्ट्र बैंकका अनुसार ८ महिनामा यस्तो चलनचल्तीमा रहेको रकम ५७ अर्ब ३४ करोड ८५ लाख रुपैयाँले बढेकोे छ । गत असार मसान्तसम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेको थियो । फागुन मसान्तसम्म आइपुग्दा ७ खर्ब ३७ अर्ब ३९ करोड पुगेको हो ।

यसैगरी, राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब ८१ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ । ८ महिनामा सञ्चित रकम १ खर्ब ३७ अर्ब ८३ करोड ६४ लाख रुपैयाँले बढेको हो । गत असारको अन्त्यसम्ममा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा रहेको थियो ।

हालसम्म राष्ट्र बैंकको दायित्व २३ खर्ब ७५ अर्ब ३४ करोड २९ लाख रुपैयाँ छ । दायित्व पनि गत असारको तुलनामा ३ खर्ब ८ अर्ब ३१ करोडले रुपैयाँले बढेको छ । गत असारसम्म २० खर्ब ६७ अर्ब २ करोड दायित्व रहेको देखिन्छ ।

केन्द्रीय बैंकले आवश्यकता हेरी मनि सप्लाई घटबढ गर्ने गर्छ । मुद्राप्रदाय (मनि सप्लाई) बढाउँदा ब्याजदर वृद्धि, बचत, लगानी तथा उत्पादन विस्तार र थप रोजगारी सिर्जना हुन्छ । केन्द्रीय बैंकले पुराना, धुजा परेका, च्यातिएका, भिजेका, राजाको फोटो भएका, रंग लागेका नोटहरु बैंक–वित्तीय संस्थामार्फत् बजारबाट खिच्ने गरेको छ भने आवश्यकता अनुसार नयाँ नोट पठाउँछ ।