काठमाडौं । लगातार ६ दिनसम्म ओरालो लागेको शेयर बजारले सातौं दिन भने सु्धारको संकेत देखाएको छ । ६ कारोबार दिनमा १२१.७७ अंक ओरालो लागेको नेप्से सोमबार २६.१० विन्दुले बढेर २६४०.७८ अंकमा आइपुगेको छ । बजार सकारात्मक रहदा कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ ।
बजार बढेको समयमा नाफा बुक गर्नेहरु झण्डै १२२ अंकले घटेको बजारमा पुन प्रवेश गर्न थालेपछि बजारले सकारात्मक लय लिएको हो । बजार बढ्ने अपेक्षाले शेयर बिक्रीको चाप घटेपछि बजारमा बढोत्तरी आएको हो ।
निरन्तर नेप्से घटेपछि अन्योलमा रहेका सर्वसाधारण लगानीकर्तामा सूचक फराकिलो अंकले बढेपछि केही राहात भने दिएको छ । अल्पकालिन लगानीकर्ताहरु हाबी हुँदै आएको बजारमा यो वृद्धि कति टिकाउ होला भन्ने आशंका भने यथावत रहेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार ३२६ स्टकको ५८ हजार २३५ पटकको कारोबारमा ४ अर्ब ४८ करोड बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.२६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको करिब १३ करोडको शेयर कारोबार भएको छ।