शीर्षकहरू

लोडसेडिङ र कच्चा पदार्थको मूल्य वृद्धिले डण्डीको मूल्य बढेको व्यवसायीको दाबी

लोडसेडिङ र कच्चा पदार्थको मूल्य वृद्धिले डण्डीको मूल्य बढेको व्यवसायीको दाबी

काठमाडौं । लोडसेडिङ र कच्चा पदार्थमा भएको मूल्य वृद्धिले नेपालको बजारमा पनि फलामे डण्डीको मूल्य वृद्धि भएको व्यवसायीले दाबी गरेका छन् । कच्चा पदार्थको कारणले ४.५० रुपैयाँ, अमेरिकी डलरको दरले ४.५० रुपैयाँ र लोडसेडिङका कारण १७.३३ रुपैयाँ वृद्धि भएको स्टील उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले बताए । 

नेपाल सिमेन्ट उत्पादक संघ, नेपाल स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले प्राधिकरणले सिजनको बेलामा देशैभर गरिएको विद्युत आपूर्ति कटौती गरेपछि परेको असरको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्योगी न्यौपानेले यस्तो बताएका हुन् । 

बजारमा व्यवसायीले आफूखुसी डण्डीको मूल्य बढाइएको हल्ला फिँजाइएको छ । तर, व्यवसायीको वाध्यतालाई भने सरकारले पनि नबुझेको उनले गुनासो गरे । ‘डण्डीको मूल्य बढेको बढ्यौ भनेर समाचार छापिएका छन् । यसो हेर्दा व्यवसायीले बदमासी गरे जस्तो लाग्छ । तर, हाम्रो मर्का कसले बुझने,’ उनले भने । 

अहिले कच्चा पदार्थको मूल्य ३० देखि ४० अमेरिकी डलरले वृद्धि भएको छ । यदि ३० अमेरिकी डलरलाई आधार मान्ने हो भने पनि प्रति केजी चार हजार १४० रुपैयाँ वृद्धि भएको छ । प्रति ४.१५ रुपैयाँ पर्न आउँछ । यसका लाग्ने भन्सार र अन्य रकम जोड्दा ४.५० रुपैया प्रति दिन वृद्धि भएको उनले स्पष्ट पारे । 

त्यस्तै, अमेरिकी डलरमा भएको वृद्धिले पनि डण्डीको मूल्य वृद्धि हुनमा थप बल पुगेको संघका अध्यक्ष न्यौपानेले बताए । १३२ रुपैयाँमा अमेरिकी डलर अहिले १३८ रुपैयाँ पुगेको छ । यसले प्रति केजी ६ रूपैयाँले फरक पर्ने उनले बताए । डलरको वृद्धिले डण्डीको प्रतिकेजी ३.५० रुपैयाँ भार थप भएको छ । 

त्यस्तै, डण्डीको मूल्य वृद्धिमा लोडसेडिङ मूल्य भूमिका रहेको व्यवसायीले गुनासो गरे । अहिले दैनिक रुपमा १४ घण्टा लोडसेडिङ भएको व्यवसायीको दाबी छ । १२ घण्टा घोषित २ घण्टा अघोषित लोडसेडिङ छ । 

नेपाली उद्योगले प्रति दिन औसत ३०० टन डण्डी उत्पादन गर्छन् । मासिक नौ हजार टन उत्पादन हुन्छ । जसका लागि मासिक ६ करोड रुपैयाँ लागत लाग्ने व्यवसायीको दाबी छ । 

ब्याज चार करोड, कर्मचारीको तलब भत्ता ७५ लाख, कार्यालय भाडा तीन लाख, सवारी साधन खर्च १ लाख ७५ हजार, अन्य खर्च ५ लाख, विज्ञापन १० लाख, मूल्यहास ९० लाख र बीमा १५ लाख ७० हजार खर्च हुन्छ । यो खर्च अनुसार फलामे डण्डी प्रति केजी ६.६६ पर्न आउँछ । तर, १४ घण्टा लोडसेडिङ हुँदा उद्योगले दैनिक १२५ टन मात्रै डण्डी उत्पादन गर्न सक्ने उनले बताए । 

नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले नेपाल विद्युत प्राधिकरणबाट कुल उत्पादनको ३५ प्रतिशत विद्युत खपत गर्ने उद्योगलाई बेवास्ता गरेको गुनासो गरेका छन् । उत्पादन हुने सिजनमा अघोषित रुपमा लोडसेडिङ गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले व्यवसायीसँग रिसिबी साधेको उनले बताए  । ‘अहिलेको उद्योगको उत्पादन गर्ने सिजन हो । यही बेला लोडसेडिङ भएपछि माग अनुसार उत्पादन गर्न सकिँदैन,’ उनले भने । 

त्यस्तै उद्योगी शशीकान्त अग्रवालले प्राधिकरणले १४ घण्टा लोडसेडिङ गराएर व्यवसायीलाई निरुत्साहित गरेको बताए  । आर्थिक मन्दीले मुलुक थलिएको बेला उद्योग व्यवसायलाई नै असर पुग्ने गरी लोडसेडिङ गरिएको उनले आरोप लगाए । 

सिमेन्ट उत्पादक संघका अध्यक्ष रघु नन्दन मारुले प्राधिकरणले प्रमाणबिना ट्रक–डेडिकेटेड बक्यौताको विषयलाई उछालेको गुनासो गरे । ‘प्रमाण पनि दिन नसक्ने र रकम पनि भुक्तानी गरेनन् भनेर हल्ला गर्दै हिड्ने,’ उनले भने । लाखौँलाई रोजगारी दिँदै अर्ब रुपैयाँ राजश्व बुझाउने उद्योगीलाई प्राधिकरणले अन्याय गरेको उनले गुनासो गरे ।