काठमाडौं । मदिराको बिक्री वितरणमा राजस्व चुहावट गरेको भन्दै राजस्व अनुसन्धान विभागले संस्कार ट्रेडर्सका प्रोप्राइटर होम प्रसाद चालिसे विरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले ५ करोड ५१ लाख १८ हजार ४५२ रुपैयाँ बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो।
सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ बस्ने चालिसेले आफ्नो संस्कार ट्रेडर्स नामको फर्म मार्फत् बिल बीजक जारी नगरी मदिराजन्य पदार्थहरू बिक्री गरी मूल्य अभिवृद्धि कर राजस्व छली गरेको जनाइएको छ ।
साथै अन्तःशुल्कजन्य पदार्थ मदिरा को अन्तःशुल्क प्रणालीमा प्रविष्टि नगरी चोरी निष्काशन गरी अन्तःशुल्क राजस्व छली गरेको अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।