शीर्षकहरू

ट्रेजरी बिल खरिदमा ३ गुणासम्म माग, आज साढे १९ अर्बको नवीकरण हुँदै

ट्रेजरी बिल खरिदमा ३ गुणासम्म माग, आज साढे १९ अर्बको नवीकरण हुँदै

काठमाडौं । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिल खरिदमा पनि मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेकोे ट्रेजरी बिल खरिद गर्न पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको हो । पछिल्लो समयमा जारी भएका ट्रेजरी बिल खरिदका लागि तीन गुणासम्म माग परेको छ । 

ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा हुँदा डिस्काउन्ट रेट पनि घटेको छ । अहिले ३६४ दिने बाहेक अन्य सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ । ३६४ दिनेको डिस्काउन्ट रेट तीन प्रतिशत भन्दा थोरै माथि रहेको छ । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले अन्यत्र लगानी विस्तार नहुँदा अल्पकालीन लगानीका उपकरणहरु खरीदमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा व्याजदर पनि घटेको छ । 

यसैक्रममा, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज चैत ११ गते सोमबार १९ अर्ब ४९ करोड २० रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत नवीकरण गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार आज उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । कार्यालयका अनुसार २८ दिन अवधिको ५ अर्ब, ९१ दिने अवधिको ९ अर्ब ४९ करोड २० लाख तथा ३६४ दिने अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । 

पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ, जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । पछिल्लो समय जारी भएका ट्रेजरी बिल खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुले माग भन्दा ३ गुणाबढीसम्म बोल गरेका छन् ।  बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । 

यसअघि चैत ४ मा बोलकबोल भएको ९१ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १३ अर्ब ६४ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९१ प्रतिशत कायम भयो । १८२ दिन अवधिको ४ अर्ब ३० करोडको ट्रेजरी बिल खरिदका लागि १० अर्ब ८५ करोड रुपैयाँ बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम भयो । यसैगरी, ३६४ दिन अवधिको ९ अर्ब करोडको ट्रेजरी बिल खरिदको लागि १६ अर्ब ८५ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट ३.०३ प्रतिशत कायम भएको थियो । 

त्यसैगरी गत फागुन २६ मा बोलकबोल भएको २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १८ अर्ब ६३ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम भयो । ९१ दिन अवधिको ८ अर्ब ५० करोडको ट्रेजरी बिल खरिदका लागि २३ अर्ब ६३ करोड २५ लाख रुपैयाँ बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९६ प्रतिशत कायम भयो । यसैगरी, ३६४ दिन अवधिको ५ अर्ब करोडको ट्रेजरी बिल खरिदको लागि २१ अर्ब बराबरको बोल परेको थियो, जसको औसत डिस्काउन्ट रेट ३.०३ प्रतिशत कायम भएको थियो । 

कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको १ वर्ष अवधिको ट्रेजरी बिल खरिद गर्न पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा हुने गरेको छ । ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशतभन्दा पनि तल झरेपछि प्रतिस्पर्धा झनै बढेको देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ ।

बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...