काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको खुद नाफा ९७२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा खुद नाफा ९७२ प्रतिशतले वृद्धि गरेको हाे ।
आव २०७९/०८० मा ९१ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आव २०८०/०८१ मा ९ करोड ८१ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, गत आवमा कम्पनीको सञ्चित मुनाफा ४४ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीले ब्याजबाट मात्रै १३ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
८० करोड चुक्ता पूँजी रहेको कम्पनीको कुल सम्पत्ति ३ अर्ब ५५ करोड रुपैयाँ छ । सम्पत्ति र कर्जा अनुपात १.५५ गुणा रहेको छ । कम्पनीको निष्क्रिय कर्जा अनुपात ५.७५ प्रतिशत, प्रति शेयर आम्दानी १२.२७ रुपैयाँ र ब्याज स्प्रेड दर ०.२० प्रतिशत रहेको छ ।
कम्पनीले ३ वटा बैँकबाट १ अर्ब ९३ करोड ५० लाख रुपैयाँ कर्जा लिएको छ । ग्लोबल आईएमई बैंकबाट १०.४० प्रतिशत ब्याजदरमा ९ करोड ५१ लाख र ८.९० प्रतिशत ब्याजदरमा ८७ करोड २ लाख रुपैयाँ कर्जा लिएको छ ।
यसैगरी, एभरेष्ट बैंकबाट ५९ करोड ५० लाख र सानिमा बैंकबाट ३७ करोड ४५ लाख रुपैयाँ कर्जा लिएको छ । एभरेष्ट बैंकबाट ८.४३ प्रतिशत र सानिमा बैंकबाट ९.७० प्रतिशत ब्याजदरमा कम्पनीले कर्जा लिएको जानकारी दिएको छ ।
पछिल्लो समय कम्पनी आईपीओ निष्काशनको तयारीमा जुटेको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता आईपीओ जारी गर्नका लागि एनएमबी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त पनि गरिसकेको छ ।
अबको केही महिना भित्र नै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्काशनको अनुमतिका लागि निवेदन दिने कम्पनीका जनरल म्यानेजर समीर ठाकुरले आर्थिक न्यूजलाई जानकारी दिए । उनले भने, 'आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी थालेका छौँ । अबको केही महिनाभित्र नै आवेदन दिनेछौँ ।’