शीर्षकहरू

चौधरी ग्रुपको बहुमत शेयर रहेको सम्राट सिमेन्टमा भारतीय लगानीकर्ता अडानी  भित्रदै

चौधरी ग्रुपको बहुमत शेयर रहेको सम्राट सिमेन्टमा भारतीय लगानीकर्ता अडानी  भित्रदै

काठमाडौं । चौधरी ग्रुपको बहुमत लगानी रहेको सम्राट सिमेन्टमा भारतीय अर्बपति व्यवसायी गौतम अडानीले समेत लगानी गर्ने भएका छन् । अडानी समूहलाई नेपालको सिमेन्ट उद्योगमा भित्रयाउनका लागि गरिएको समझदारीपत्र (एमओयू) लाई लगानी बोर्डले स्वीकृत समेत गरिसकेको छ । 

हाल सम्राट सिमेन्टमा चौधरी ग्रुपको ७४।८ प्रतिशत, अनिल रुँगटाको १३ प्रतिशत, टोपेन्द्रकुमार शर्माको २ प्रतिशत र क्याम्पर फाइनान्सको ११ प्रतिशत शेयर रहेको छ । लगानी बोर्डले सम्राट सिमेन्टलाई १५ अर्ब ६ करोड लगानी स्वीकृत गरेको थियो । 

हाल अडानी समूहले अम्बुजा सिमेन्ट संचालन गरिरहेको छ । सबैभन्दा ठूलो सिमेन्ट उत्पादक बन्ने रणनीतिमा रहेको अडानी समूहले भारतमा पनि चलेका सिमेन्ट कम्पनीहरु अधिग्रहण गर्दैछ । अडानीले पेन्ना सिमेन्ट, सौराष्ट्र सिमेन्ट तथा वदराज सिमेन्ट लगायतका कम्पनीहरु अधिग्रहण गर्ने तयारीमा छ । 

नरेन्द्र मोदी नेतृत्वको सरकारले पूर्वाधार निर्माण लगानी बढाउने घोषणा गरिरहँदा भारतमा सिमेन्ट उत्पादनको माग पनि बढ्दो छ । जसकारण सिमेन्ट उद्योगमा अहिले धेरै उद्यमिको नजर परेको छ । अडानी मोदीका विशेष मानिन्छन् । उनै अडानीलाई नेपालको चौधरी ग्रुपले सम्राट सिमेन्टमा व्यापारिक साझेदार बनाउन लागेको हो ।

सम्राटमा अडानिको के कति लगानी रहने भन्ने बिषय भने खुलाइएको छैन् । लगानी बोर्डले भने नेपालको सिमेन्ट उद्योगमा अडानि समूहलाई भित्रयाउनका लागि सम्राट सिमेन्टसँग गरेको समझदारीपत्र (एमओयू) लाई स्वीकृत गरिसकेको जनाएको छ । 

सम्राट सिमेन्ट सन् २०१३ मा स्थापना भएको कम्पनी हो । चौधरी ग्रुपको प्रवेशसँगै क्षमता बढाउँदै लगेको छ । सुरुमा ५१ प्रतिशत शेयर खरिद गरेको चौधरी ग्रुपले अहिले शेयर हिस्सा दुई तिहाइ पुर्याएको छ । सम्राट सिमेन्टका लगानीकर्ता मुकुन्दप्रसाद तिमिल्सिना, छुतेन लामा बासुदेव पाण्डेलगायतले चौधरी ग्रुपलाई शेयर बिक्री गरेका थिए।

उद्योगको दाङमा क्लिंकरसहितको ग्रिन्डिङ प्लान्ट छ । पूर्व-पश्चिम राजमार्गको २ किमिको दूरीमा सिमेन्ट उद्योग छ। सम्राट सिमेन्टले ओपीसी, पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । भीआरएम र रोबोटिक टेक्नोलोजीले सिमेन्ट उत्पादन गरिरहेको छ । गजराज, बजा र बादशाह ब्रान्डमा सिमेन्ट उत्पादन हुँदै आएको छ । लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा यी गजराज सिमेन्ट बढी चर्चित छन्। 

सुरुमा उद्योग विभागमा दर्ता भएको यो सिमेन्ट उद्योग ६ अर्बभन्दा बढी लगानी भएसँगै लगानी बोर्डमातहतमा आएको थियो। अहिले सम्राट सिमेन्टको लगानी १५ अर्बभन्दा बढी पुगेको छ । लगानी विस्तारसँगै पहिला दैनिक १८०० मेट्रिक टन रहेको प्लान्ट क्षमतालाई उद्योगले ४५०० मेट्रिक टन पुर्याएको छ ।  

४६ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा चौधरी ग्रुपबाट निर्वाण चौधरी र वरुण चौधरी निर्देशक छन भने कम्पनीको अध्यक्षमा अनिल कुमार रुंगटा छन्। । अनिल जगदम्बा इन्टरप्राइजेजको निर्देशक समेत हुन्। । उनी स्टिल उद्योगमा समेत आबद्ध छन्। ।

लगानी बोर्डका अनुसार हालसम्म विभिन्न ५१ आयोजनाहरुको लगानी स्वीकृत गरेको छ । जसमा अधिकांश जलविद्युत आयोजनाहरु रहेका छन् । सम्राट सिमेन्ट बाहेक डाङगोटे सिमेन्ट, रिलायन्स सिमेन्ट, होङ्शी शिवम सिमेन्ट, हुवाशिन सिमेन्ट, सूर्यतारा सिमेन्ट, हुवाशिन सिमेन्ट नारायणी लगायतका उद्योगहरुको पनि लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ ।