शीर्षकहरू

बीमा प्राधिकरण र भुटानका डेपुटी गभर्नरबीच द्विपक्षीय सहयोग आदान-प्रदान सम्बन्धमा छलफल

बीमा प्राधिकरण र भुटानका डेपुटी गभर्नरबीच द्विपक्षीय सहयोग आदान-प्रदान सम्बन्धमा छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा  छलफल भएको छ ।

नेपाल बीमा प्राधिकणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज प्राधिकरणका अध्यक्ष ओझासँग भुटानका डेपुटी गभर्नर छोदेनले गरेको भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरीवेक्षण , पुनर्बीमा सम्वन्धी नेपालको अनुभव र द्विपक्षीय सम्वन्ध सुदढीकरण लगायतका विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी दिँदै यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बीमा क्षेत्रलाई नयाँ उचाई दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए ।

भुटानको बीमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बीमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताए ।

डेपुटी गभर्नर छोदेनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपाल बीमा प्राधिकरणसँगको सम्वन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटका अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) लगायत पदाधिकारीहरू र भूटानको रोयल मनिटरी अथोरिटीका उच्चपदस्थ पदाधिकारीहरूको सहभागिता रहेको थियो ।