शीर्षकहरू

शेयर कारोबारमा हुने चलखेल नियन्त्रण गर्न भारित औसतमा आधारित मूल्य कायम गरिने

शेयर कारोबारमा हुने चलखेल नियन्त्रण गर्न भारित औसतमा आधारित मूल्य कायम गरिने

काठमाडौं । शेयर बजारमा हुने चलखेल नियन्त्रणका लागि अब बजारमा कारोबार हुने शेयरको अन्तिम मूल्य भारित औसतमा आधारित हुने भएको छ । नेप्सेका अनुसार अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सो कम्पनीको शेयरको अन्तिम मूल्य तय गरिने भएको छ । यो नियम चैत ७ गते बिहीबारदेखि लागू हुने नेप्सेले जनाएको छ । 

हालसम्म बजार बन्द हुँदा अन्तिम पटकको कारोबार मूल्य नै त्यस दिनको लागि सो कम्पनीको अन्तिम मूल्य रहँदै आएको छ । अब अघिल्लो दिनको अन्तिम मूल्य जुन तय हुन्छ,भोलिपल्टबाट सोही मूल्यमा २ प्रतिशतको सीमाभित्र रहेर पहिलो कारोबार हुने नेप्सेले जनाएको छ । 

नेपाल स्टक एक्स्चेन्जले नयाँ व्यवस्था कार्यान्वयन गर्नेगरी धितोपत्र बोर्डबाट नीतिगत व्यवस्थाका लागि स्वीकृत गरेपनि नेप्सेले नयाँ नियम लागू गरेको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

केही खेलाडीहरुले शेयर मूल्य बढाउन तथा घटाउनका लागि अन्तिम एक मिनेटमै चलखेल गर्ने गरेको आरोपपछि नेप्सेले यस्तो व्यवस्था लागू गरेकोे हो । खासगरी लोक्याप कम्पनीमा अन्तिम एक मिनेटमै खेलाडीहरुले मूल्य उच्च दरमा बढाउन वा घटाउने गर्दै आएका थिए ।

यहीं चलखेल रोक्नका लागि अब अन्तिम १५ मिनेटको अर्थात् २:४५ देखि ३ बजेसम्मको भारित औसत कारोबार मूल्य नै सो कम्पनीको अन्तिम शेयर मूल्य तय हुनेगरी व्यवस्था गर्न लागिएको हो । उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने नेप्सेको भनाई छ । यो नियम लागू भएपछि दोस्रो बजारमा अन्तिम सेकेण्डमा मार्केट “एमकेटी” गर्दै शेयरको मूल्य बढाएर सर्किट लगाउनेहरूको दिन सकिने भएको छ ।

null