काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा झण्डै साढे २ खर्ब सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको साउन देखि फागुनसम्ममा सार्वजनिक ऋण २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थपिएको हो । योसँगै फागुनमसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
२०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड तिर्न बाँकी ऋण रहेको थियो । नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋण जीडीपीको २३.०६ र बाह्य २३.८५ प्रतिशत छ । यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ तथा बाह्य ऋण भने १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५०.८३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४९.१६ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो । विनिमयदरमा भएको परिवर्तनका कारण यस आर्थिक वर्षको फागुनमसान्तसम्म आइपुग्दा ६६ अर्ब २९ करोडले सार्वजनिक ऋणको दायित्व बढेकोे छ । पछिल्लो समयमा डलरको भाउ बढ्दै गएकाले ऋण दायित्व थपिएको हो ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ६२ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ६१.१७ प्रतिशत छ । यस अवधिमा सरकारले २ खर्ब ६९ अर्ब १५ करोड आन्तरिक ऋण तथा ६५ अर्ब ४७ करोड बाह्य ऋण प्राप्ति गरेको छ । जसमा आन्तरिक ऋण प्राप्ति लक्ष्याको ८१.५६ प्रतिशत तथा बाह्य ऋण प्राप्ति लक्ष्यको ३०.१७ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा फागुन मसान्तसम्म २ खर्ब १ अर्ब ७२ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ५०.८६ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ३।५४ प्रतिशत हो ।
चालु आवको ८ महिनामा सरकारले १ खर्ब ७१ अर्ब ४५ करोड आन्तरिक ऋण तथा ३० अर्ब २७ करोड बाह्य ऋणको दायित्व घटाएको छ । फागुन मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ५८ अर्ब ९८ करोड र ब्याज भुक्तानीमा ४२ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । अर्धवार्षिक बजेट समीक्षामार्फत सरकारले बजेटको आकार झण्डै दश प्रतिशतले घटाएको छ ।