काठमाडौं। पियोर इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज मंगलबार (चैत ५ गते) अन्तिम दिन हो । कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
आइपीओमा माग भन्दा बढी आवेदन परिसकेका कारण मंगलबार बैंकिङ समय पञ्चात बिक्री बन्द गरिने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयका लागि जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
त्यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता शेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आवेदन खुला गरिएको हो ।
स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन् । यस्तै, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारको शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।