काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्न नसकेको २ खर्ब १६ अर्ब ५ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा जम्मा भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले चैत ३ गते आइतबारसम्म स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण मार्फत उक्त रकम राष्ट्र बैंकमा राखेका हुन् ।
चैत ३ गते आइतबार एकैदिन बैंक तथा वित्तीय संस्थाहरुले ७१ अर्ब ७५ करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । आइतबार बैंकहरुले ५६ अर्ब ५५ करोड एसडीएफ तथा निक्षेप संकलन उपकरण मार्फत १५ अर्ब २० करोड निक्षेप केन्द्रीय बैंकमा राखेका हुन् । बैंकहरुले निक्षेप संकलन उपकरणमा घटाएर एसडीएफमा लगानी बढाएका छन् । यसले बैंकहरुमा कर्जा विस्तार हुने अपेक्षा बढेको देखिन्छ ।
आइतबार केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनको लागि ४० अर्ब तरलता प्रशोचन गर्न खोज्दा ९ बैंक तथा वित्तीय संस्थाहरुले १५ अर्ब २० करोड मात्र जम्मा गरेका छन् । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ ।
बैंकहरुले निक्षेप संकलन उपकरणमा लगानी गरेको १ खर्ब ५९ अर्ब ५० करोड परिपक्क हुन बाँकी छ । चालु आर्थिक वर्ष सुरु भएयता चैत ३ गते आइतबारसम्म केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ५७ पटकमा २० खर्ब २८ अर्ब ८० करोड तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गर्छ । त्यसैगरी ३ प्रतिशत भन्दा तल आएको खण्डमा बजारबाट तरलता खिच्छ ।
निक्षेप संकलनमा माग भएजति रकम नदिएका बैंकहरुले एसडीएफमा भने अघिल्लो पटकको तुलनामा १० अर्ब बढी रकम राखेका छन् । एसडीएफमा राखेको रकम ३ दिनमा परिपक्क हुन्छ । राष्ट्र बैंकले ब्याजदर कोरिडोर कार्यान्वयन प्रभावकारी बनाउन गत वर्षको फागुनदेखि बैैंक, वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता केन्द्रीय बैंकमा निक्षेपका रुपमा राख्न पाउने गरी स्थायी निक्षेप सुविधा सुरु गरेको थियो ।
एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै जाने तर कर्जाको माग नबढेपछि बैंकहरुले अल्पकालीन उपकरणहरुमा लगानी गरेरै भए पनि आम्दानी गर्ने गरेका छन् । चालु आर्थिक वर्ष सुरु भएयता चैत ३ गते आइतबारसम्म बैंकहरुले १४१ खर्ब ३ अर्ब ५५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन । बैंकहरुले आइतबारको सहित ९८ पटकमा उक्त रकम बराबरको एसडीएफ लिएका हुन् ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा बैंकहरुलाई हरेक आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ दिन स्थायी निक्षेप सुविधा उपलब्ध गराउने प्रावधान छ । स्थायी निक्षेप सुविधामा जम्मा भएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइदैन् । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाइने व्यवस्था रहेको छ ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६७ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५४ खर्ब ६४ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७२ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ५ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।