शीर्षकहरू

काठमाडौंको बढ्दो तापक्रम नियन्त्रण गर्न प्राधिकरणले सुरु गर्यो नमुना आयोजना

काठमाडौंको बढ्दो तापक्रम नियन्त्रण गर्न प्राधिकरणले सुरु गर्यो नमुना आयोजना

काठमाडौंमा वार्षिक पानी पर्ने दर घट्यो, एक दिनमा पर्ने दर भने बढ्यो

विपद् न्यूनीकरणका लागि सरकारले अपनाउने सक्ने चार विधि

चारवटा खाली ठाउँ पहिचान देखि दुई करोड लिटर पानी जम्ने दह बनाइने 

काठमाडौं । जलवायु परिवर्तनले दिनप्रति बढ्दै गएको काठमाडौंको तापक्रम घटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले नमुना आयोजना सुरु गरेको छ । यूएन वातावरण कार्यक्रमको सहकार्यमा  करिब एक अर्ब रुपैयाँ लागतमा प्राधिकरणले नमुना आयोजनाको सुरुवात गरेको हो । 

प्राधिकरणले शहरी परिस्थितकिय प्रणालीमा आधारित जलवायु अनुकूलन आयोजना अन्तर्गत काठमाडौंको इकोसिस्टमको पहिचान, संरक्षण र उपयोग गरी तापक्रम घटाउने, बाढी पैरो जस्ता जोखिम घटाउने, सम्भावित आगलागी देखि अन्य प्राकृतिक विपद्लाई कम गर्ने आयोजना प्रमुख दुर्गा प्रसाद उपाध्यायले बताए । आयोजनाले हालसम्म काठमाडौं भित्रै रहेका इकोसिस्टमको अध्ययन गरी यसको डिजाइन समेत तयार पारेको छ । 

सन् १९७१ देखि १९९० सम्म काठमाडौंको वार्षिक तापक्रम औसत २४.५ डिग्री थियो । १९९१ देखि २००० सम्ममा तापक्रम बढेर २६ डिग्री मापन गरिएको छ । सन् २००१ देखि २०२० सम्ममा २६.१ डिग्री तापक्रम पुगेको छ । प्राकृतिक रुपमा वृद्धि हुँदा एक हजार वर्षमा एक डिग्री बढ्नु पर्ने हो । तर, नेपालमा २० वर्षमा नै तापक्रम बढेको छ । यसको अर्थ काठमाडौंको तापक्रम निक्कै छिटो बढेको आयोजना प्रमुख उपाध्यायले बताए । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन अनुसार काठमाडौंमा जनसंख्यासँगै, बाढी पैरो, आगलागी जस्ता प्राकृतिक विपद् पनि बढ्दै गएको देखाइएको छ । यसलाई कम गर्न सरकारले काठमाडौं भित्रकै इकोसिस्टमको पहिचान, संरक्षण र उपयोग गर्नुपर्ने आयोजना प्रमुख उपाध्यायले बताए । ‘काठमाडौंको तापक्रम बढ्ने क्रमलाई गहन रुपमा लिएको छैन । तापक्रम घटाउन आज नै सावधानी अपनाएनौ भने प्राकृतिक विपद्को सामना गर्नुपर्नेछ,’ उनले भने । यसका लागि सरकारले विभिन्न निकायबाट आर्थिक सहयोग पनि लिन सक्ने उनले बताए । 

काठमाडौंमा वार्षिक पानी पर्ने दर घट्यो, एक दिनमा पर्ने दर भने बढ्यो

नेपालमा वार्षिक पानी पर्ने दर घटेको छ । तर, २४ घण्टामा पर्ने पानीको दर भने बढेको छ । आयोजनाका प्रमुख उपाध्यायका अनुसार नेपालमा वार्षिक करिब १६०० मिलि लिटर पानी पर्छ । यो मध्ये ८० प्रतिशत पानी जेठको अन्तिम देखि असोज महिनासम्म पर्छ । बाँकी आठ महिना सुख्खा रहन्छ । यो अवधिमा परेको पानीले सुख्खा समयलाई भरथेग गर्नुपर्छ । 


हजारौं बर्ष देखि चल्दै आएको पानी पर्ने यो प्रवृत्ति अहिले भने परिवर्तन हुँदै गएको आयोजना प्रमुख दुर्गा प्रसाद उपाध्यायले बताए । तर, २४ घण्टामा पर्ने पानीको दर भने बढेको छ । काठमाडौंको भौगोलिक बनावटले एक दिन (२४ घण्टा) मा ५० मिलि लिटरसम्मको पानीलाई धान्न सक्ने क्षमता छ । ५० मिलि लिटर भन्दा बढी पानीलाई भने काठमाडौंको जमिनले थेग्न नसक्ने उनले बताए । ‘त्यसैले यो सीमा भन्दा बढी पानी पर्नु भनेको काठमाडौंका लागि खतरा हो,’ उनले भने । गएको असोजमा काठमाडौंमा सबै स्थानमा २४ घण्टा भित्रमा १५० मिलि लिटर भन्दा बढी बर्षा भएको थियो । फलस्वरुप काठमाडौं बुढानमा परेको उनले बताए । 

विपद् न्यूनीकरणका लागि सरकारले अपनाउने सक्ने चार विधि

जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम र जोखिमलाई कम गर्न चारवटा विधि अपनाउन सकिने आयोजना प्रमुख उपाध्यायले बताए । 

पहिलो विधि भनेको जे जस्तो भै रहेको छ, त्यसैलाई यतिकै छोडिदिने हो । दोस्रो विधि भनेको इन्जिनियरिङ मोडल, तेस्रो विधि प्रकृतिमा आधारित मोडल र चौथो मिश्रित मोडल (इन्जिनियरिङ र प्रकृतिमा आधारित मोडल मिश्रित) हो । 

चार विधिमध्ये पहिलो विधि भनेको प्राकृतिक विपद्का लागि कुनै पनि विधि नअपनाउनु हो । जे भै रहेको छ, त्यस्तै हुन दिनु हो । प्रकृतिमा आधारित विधिमा जंगल बढाउने, खाली स्थान बढाउने, विरुवा रोप्ने, नदीको बग्ने स्थान बढाउने हो । इन्जिनियरिङ विधिमा भने प्राविधिक काम पर्छन् । जस्तै नदीलाई बलियो बनाउने । दुवै तर्फ बलियो पर्खाल लगाउने । नदिले बगाएर ल्याएको फोहोरलाई सफा गरी रहने हो । मिश्रित विधिमा भने यि दुवै खालको काम पर्नेछ । 

चार विधिमध्ये चौथो विधि उपयुक्त भएको आयोजना प्रमुख उपाध्यायले बताए । अहिले प्राधिकरणले युएन वातावरण कार्यक्रमको सहकार्यमा चौथो विधि अनुसारको नमुना आयोजना सञ्चालन गरेको समेत उनले बताए । 

चारवटा खाली ठाउँ पहिचान देखि दुई करोड लिटर पानी जम्ने दह बनाइने 

आयोजनाले काठमाडौंमा भित्र चार वटा खाली ठाउँको पहिचान गरेको छ । १५० रोपनी भन्दा बढीको निल बाराही, ५२ रोपनी भन्दा धेरै खाली ठाउँ भएको नागदह, ५० रोपनी सहितको च्यासिलन्डोल, ५५ रोपनी सहितको टोखाको गले र टोखाकै १२ रोपनी भएको हातीचोकको पहिचान गरिएको आयोजना प्रमुख उपाध्यायले बताए । ‘चार देखि ६ महिना लगाएर हामीले अध्ययन गयौ । अध्ययनका लागि बाह्य कन्सल्टेण्ट नियुक्त गरेका थियौ,’ उनले भने । 

आयोजनाले पहिचान गरेको खाली ठाउँमा विरुवाहरू लगाइने, मानिसहरू बस्न मिल्ने गरी व्यवस्थापन गरिनेछ । भुकम्प, बाढी, पैरो जस्ता प्राकृतिक विपदको समयमा यस्ता स्थानमा बस्न सकिनेछ । त्यस्तै यसले काठमाडौंको तापक्रम घटाउन पनि सहयोग पुग्ने आयोजना प्रमुख उपाध्यायले बताए ।  

काठमाडौं ७२१ स्क्वायर फिटमा फैलिएको छ । काठमाडौं भित्र ८८७ वटा खाली ठाउँ छन् । साना ठूला गरी १९ वटा खोला छन् । ४० प्रतिशत जंगल छ । तर, काठमाडौंको बढ्दै गएको तापक्रम र यसले भित्र्याउने प्राकृतिक विपद व्यवस्थापनका लागि यो पर्याप्त नभएको आयोजना प्रमुख उपाध्यायले बताए । 

नेपाल सरकारले काठमाडौं जस्तो भुकम्पको जोखिम रहेको स्थानमा ५ प्रतिशत खाली स्थान हुनुपर्ने बताउँदै आएको छ । विज्ञहरुले भने १५ प्रतिशत खाली ठाउँ हुनुपर्ने बताउँदै आएका छन् । तर, काठमाडौंमा अहिले जम्मा ०.५१ प्रतिशत मात्रै खाली ठाउँ छ । जुन ३.७२ स्क्वायर फिट मात्रै हो । भुकम्पका लागि यो स्थान पर्याप्त छैन । ४० प्रतिशत भनिएको जंगल पनि काठमाडौंमा भित्र छैनन् । काठमाडौं वरपर मात्रै छन् । त्यसैले शहर भित्र जंगलको प्रतिशत पनि बढाउनु पर्ने चुनौती रहेको उनले बताए ।

त्यस्तै, बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर दुई र १३ को बीचमा पर्ने महादेवस्थान मन्दिर नजिक संरक्षण दह बनाइने भएको छ । दहका लागि आयोजनाले अध्ययन कार्य सकेको छ । दह ०.२ हेक्टरमा फैलिएको हुनेछ भने २०० मिटर फराकिलो हुनेछ । दहमा दुई करोड लिटर पानी जम्नेछ । 

दहले बर्षाको समयमा बढ्ने पानीको बहावलाई नियन्त्रण गर्नेछ । जसका कारण धोबीखोलामा आउने सम्भावित बाढीको जोखिमलाई घटाउने आयोजना प्रमुख उपाध्यायले बताए । अहिले दहबाट प्रति सेकेण्ड १०० लिटर पानी बग्छ । दह बनाइएपछि पनि प्राकृतिक रुपमा बग्ने पानीको बहावलाई पनि निरन्तरता दिइनेछ । बुढानिलकण्ठ नगरपालिकाले पानीलाई पिउन र पर्यटन प्रबर्द्धनका लागि पनि प्रयोग गर्ने जनाएको छ । 

यसका साथै आयोजनाले १० हजार वटा विरुवा रोप्ने भएको छ । काठमाडौं शहर भित्र विभिन्न स्थानमा विरुवा रोप्नेछ । हालसम्म पाँच हजार वटा विरुवा रोपी सकिएको आयोजना प्रमुख उपाध्यायले बताए । विरुवा रोप्दा शहर राम्रो देखिने र काठमाडौंको तापक्रमलाई नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताए । 

त्यस्तै आयोजनाले ३४९ वटा भवनबाट बर्षाको पानी संकलन करिब ६ करोड लिटर पानी संकलन गर्ने भएको छ । आयोजनाले २८० वटा निजी घर, ६० वटा सरकारी भवन र ९ वटा सामुदायिक भवनबाट वर्षाको पानी संकलन गर्ने भएको छ । 

यसका लागि बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १०, ११ र १२ र काठमाडौंको ७ नम्बर वडालाई छनौट गरिएको छ । प्रत्येक भवनमा पानी संकलन को प्रविधि जडान गर्नका लागि दुई लाख ५० हजार रुपैयाँ लाग्नेछ । प्रत्येक भवनबाट कम्तीमा १ लाख ५० लाख लिटर पानी संकलन गरी जमिनमा पठाइनेछ । 

यसका लागि आयोजनाले चार आना जमिन र ९०० देखि १००० स्क्वायर फिटमा बनेको घरलाई छनौट गरेको छ । 

यसरी संकलन गरिएको पानी पिउन बाहेक विभिन्न खालका सरसफाइ प्रयोजनमा प्रयोग गर्न सकिने आयोजना प्रमुख उपाध्यायले बताए । ‘सरकारी भवनमा भने यसरी संकलन भएको पानीलाई पनि पिउन मिल्ने गरी प्रविधि जडान गर्नेछौ,’ उनले भने । बर्षाको पानी संकलनले बाढी पहिरोलाई कम गर्नेछ ।