काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टको सञ्चालक समितिले पोस्ट लोन म्यानेजमेन्ट सर्भिस र कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने निर्णय गरेको छ । अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा मिति मंगलबार बसेको सञ्चालक समितिको बैठकले फागुन १ गतेबाट बैंक वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
नेपालको बैंक वित्तीय संस्थामा खराब कर्जाको समस्या डरलाग्दो रूपमा बढदै गैरहेको छ । कर्जा प्रवाहपछि ऋणीले कर्जा रकम उचित प्रयोग गर्न नजान्दा र उद्योग व्यवसाय सञ्चालनको उचित ज्ञान नहुँदा समस्यामा पर्दै गैरहेकाले यस्तो सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।
कर्जा प्रवाहपछि बैंक वित्तीय संस्थाले नियमित परामर्श पनि नदिने भएकोले कर्जाहरू क्रमश: खराब हुँदै गएको निष्कर्ष कम्पनीको छ ।
'बैंक वित्तीय संस्थाको खराब कर्जाको वर्तमान अवस्थालाई समयमै सम्बोधन नगरे देश ठूलै संकटमा पर्ने, बैंकहरूले प्रवाह गरेको कर्जा असुल नहुने र ब्याजदर न्यून बिन्दुमा हुंदा पनि नयां कर्जा नजाने स्थितिले आर्थिक अवस्था भयावह हुने संकेत गर्दैछ । समय हुँदै यो समस्या समाधानको लागि बैंक वित्तीय संस्थाले विशेषज्ञहरूको सेवा लिन आवश्यक छ,' कम्पनीले बताएको छ ।
यसैकारण बैंक वित्तीय संस्था र ऋणी बिचमा पुलको रूपमा काम गर्ने गरि परामर्श सेवा संचालनको घोषणा गरेको हो ।