शीर्षकहरू

तीन कारोबार दिनपछि बढ्यो नेप्से, ९ अर्ब ४० करोडको कारोबार

तीन कारोबार दिनपछि बढ्यो नेप्से, ९ अर्ब ४० करोडको कारोबार

काठमाडौँ । निरन्तर तीन कारोबार दिन घटेपछि साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेको छ । बिहीबारदेखि घट्दै गएको शेयर बजारमा यसदिन २४.५० अंकले नेप्से बढेर दुई हजार ६५७.७७ बिन्दुमा बजार बन्द भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ३.१९, फ्लट इन्डेक्स १.६५ र सेन्सेटिभ फ्लट इन्डेक्स १.१४ अंकले बढेको छ भने १३ वटै उपसमूहमा हरियाली देखिएको छ । सर्वाधिक विकास बैंकको शेयरमा ४.०७ प्रतिशतको उछाल देखिएको छ ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ९२ करोडको शेयर कारोबार भएकोमा आज  ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

यसैगरी आज कारोबारमा आएका २४३ कम्पनीमध्ये १७७ कम्पनीको शेयरमूल्य उचालिँदा ६० कम्पनीका लगानीकर्ताले गुमाएका छन् । बाँकी ६ कम्पनीको शेयर स्थिर देखिएको छ ।

उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर र जानकी फाइनान्सको शेयरमा सर्किट लाग्दा न्यादी हाइड्रोपावरको ९.९९, सामुदायिक लघुवित्तको ९.९८ र सिन्धु विकास बैंकको ९.४७ प्रतिशतले शेयर मूल्य बढेको छ । यसदिन डोल्टी पावरका लगानीकर्ताले सर्वाधिक ८.४३ प्रतिशतले गुमाएका छन् ।