शीर्षकहरू

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस शेयर पारितका लागि फागुन ११ गते साधारण सभा गर्दै

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस शेयर पारितका लागि फागुन ११ गते साधारण सभा गर्दै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन ११ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुलती, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित १४ प्रतिशत बोनस शेयरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँको आधारमा १४ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । साविक गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्ससँर्ग मर्जर प्रक्रियापछि बनेको यस कम्पनीलाई बोनस शेयरमा लाग्ने कर भने छुट हुने भएकाले नगद लाभांश प्रस्ताव नगरिएको हो ।

लाभांश प्रस्तावसँगै आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । बोनस शेयर वितरणपछि कम्पनीको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।