काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आजदेखि बिक्री खुला भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्ने अनुमति पाएको हो ।
सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । लगानीकर्ताले माघ २९ गतेसम्म न्यूनतम १० कित्ताका र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २९ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिएका थिए । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लघु जीवन बीमा क्षेत्रका कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले नेपाल बीमा प्राधिकरणबाट ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्ने गरी स्वीकृति प्राप्त गरेको थियो ।
हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।