शीर्षकहरू

वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार : प्रधानमन्त्री

वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार : प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै सरकार बलियो बनेको बताएका हुन् । राजतन्त्रको पालामा शासन टिकाउनका लागि मरि मेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रमा विकास निर्माणको गति बेग्लै भएको उनले बताए । 

“अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभइकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ,”उनले भने । 

प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पारे । उनले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए चाँडै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले आफूलाई रूघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भने, “मलाई रूघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ तर हाच्छिउँ गरेको देख्यो भने आइसियु कक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।”

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित सङ्ख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।

नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।