शीर्षकहरू

नेपाल ल्यूब आयलले गर्यो २०० प्रतिशत हकप्रद शेयरको प्रस्ताव

नेपाल ल्यूब आयलले गर्यो २०० प्रतिशत हकप्रद शेयरको प्रस्ताव

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले यस अघिको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रस्ताव खारेज गर्दै २०० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गरेको छ । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस अघिको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज गर्दै २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँ छ । 

हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले माघ २९ गते विशेष साधारण सभा बोलाएको छ । द प्लाजा, पूल्चोक, ललितपुरमा विहान ११ बजे सभा सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ २४ गते बिहीवार सम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

लाभांश वितरणलाई हरेक वर्ष निरन्तरता दिइरहेको यस कम्पनीले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । हालसम्मको अवस्थामा कम्पनीले अधिकतम ४० प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०७४÷७५ को मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३० प्रतिशत नगद लाभांश समेत गरी कुल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।