शीर्षकहरू

निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सांसदहरूले निकुञ्ज क्षेत्रभित्र हेलिप्याड निर्माण, उडान तथा अवतरणलाई थप व्यवस्थित गर्नुपर्ने धारणा राखेका हुन् । 

सांसद गोमादेवी तिमिल्सनाले सरकारले पूर्वाधार विकासका क्षेत्रमा काम अगाडि बढाउँदै गर्दा प्राकृतिक सम्पदालाई जोगाउने र स्थानीय जनताको चाहानालाई पनि ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने धारणा राखिन् । 

सांसद श्रीकृष्णप्रसाद अधिकारीले सरकारले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई जोगाउँदै त्यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । सांसद नरबहादुर विष्टले निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा होटल र अन्य व्यवसाय सञ्चालन, पर्या–पर्यटन प्रवर्द्धनलगायत विषयलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए । 

सांसद युवराज शर्माले नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा, दहत्तर, बहत्तर) को उपभोग, बिक्री वितरणलाई व्यवस्थापन गर्नुका साथै मध्यवर्ती क्षेत्रभित्र र बाहिर प्रयोग हुने नदीजन्य पदार्थको मूल्यमा एकरुपता हुनुपर्नेमा जोड दिए । 

सांसद रेनु चन्दले सम्बन्धित प्रदेश र स्थानीय तहले वन तथा वातावरणसम्बन्धी कानुन तर्जुमा गर्ने सम्बन्धमा त्यस क्षेत्रका निकुञ्ज कार्यालयका प्रतिनिधिसँग छलफल गरी अघि बढ्नुपर्ने धारणा राखिन् ।