काठमाडौँ । दलित र ब्राम्हणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसी धाममा माघ शुक्ल प्रतिपदा देखि दशमीसम्म बाइस ताल स्नान मेला लाग्ने भएको छ ।
यसवर्ष यही माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसी धाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेश प्रसाद पन्तले जानकारी दिए । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आइपुगेका पन्तले चार सय वर्षअघिदेखि दलित र ब्राम्हणले पूजा आराधना गरी समावेशिताको उत्कृष्ट नमूना प्रदर्शन गर्दै आएको बताए ।
चार सय वर्षअघि मैनावती कोटका राजा मानुक चन्दले यो मन्दिरमा दलित र ब्राम्हणले संयुक्त रुपमा पूजा आराधना गर्ने रीत बसालेका थिए । बनारसी धाममा हाल ब्राह्मण समुदायका पन्त र दलित समुदायका लोहारले पूजा आराधना गर्दै आएका छन् । यहाँका ब्राम्हणले दलितलाई कुनै छुवाछुत नगर्ने संस्कृतिको विकास भएको छ । ब्राह्मण पुरोहितले दलितका घरमा गएर कर्मकाण्डलगायत कर्मसमेत गर्ने गरेको पनि पन्त बताए ।
ब्राह्मण समुदायका घरमा दलित समुदायले निर्वाध रुपमा प्रवेशसमेत पाउने गरेका छन् । चार सय वर्ष अघि देखिको अभ्यासले यो गाउँमा कुनै छुवाछुत र भेदभाव नभएको स्थानीयबासीको अनुभव छ । पाटन नगरपालिका वडा नं ३ मा पर्ने बनारसी धामलाई धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पनि मेलाले सहयोग गर्ने समाजका अध्यक्ष उत्तरबहादुर चन्द बताए । मेलालाई भव्य रुपमा सम्पन्न गराउन समाज लागिपरेको छ ।