महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताएका छन् । सरकार परिवर्तनको हल्ला चलेको बेला महासचिव पोखरेलले मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको स्पष्ट पारेका हुन् ।
बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दलबीचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको उल्लेख गरे । “हामीबिच कुनै अलमल वा जालझेल केही छैनन्, हामी दुवै दलले स्पष्टताका साथ यो अहिलेको प्रतिनिधिसभाको कार्यकाल भरि स्थिर सरकार दिने वाचा गरेका छौँ”, पोखरेलले भने, “सबैले स्पष्ट भए हुन्छ, हामी त्यसअनुरुपको अघि बढेका छौँ ।” पछिल्लो पटक वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति भएको उनको भनाई छ । यसले आर्थिक सूचकहरूमा क्रमशः सकारात्मक सुधार देखाएको उनले बताए ।
महासचिव पोखरेलले मुलुकको समृद्धि र विकासका लागि अब हुने निर्वाचनमा कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्नुपर्ने उल्लेख गरे । यसै अभिभाराबाट निर्देशित भएर आफ्नो दल ‘मिसन–२०८४’ अभियानमा लागेको पोखरेलको भनाइ छ । विसं २०८४ को निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ सरकार सञ्चालन गर्ने दृढ सङ्कल्प लिएर अघि बढेको उनले बताए । “मुलुकको समृद्धिको सपना एमालेले देखेको छ, मधेस भन्नोस् वा पहाड र हिमाल”, पोखरेल भने, “सबै क्षेत्रको सन्तुलित विकास एमाले नेतृत्वमै सम्भव छ ।” अहिले मुख्य विपक्षी दलका नेताले वर्तमान सरकार अप्राकृतिक बनेको भन्दै हिँडेको सन्दर्भ जोड्दै पोखरेलले बढी मत पाउने मुख्य दल मिलेर बनेको सरकार अप्राकृतिक भन्नु सत्ताबाट बाहिरिन परेको छटपटीमात्र भएको आरोप लगाए ।
उनले एमाले नेतृत्वको सरकारले नै मधेसका सडक फराकिला बनाउने र मधेसलाई हराभरा बनाउन सुनकोसी मरिन डाइभर्सनको काम अघि बढाएको उल्लेख गरे । मधेसी जनतामा अब आफ्नो विकास एमाले नेतृत्वमै हुनसक्ने विश्वास बढ्दै गएको प्रमाण यहाँको प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्नु पर्याप्त भएको उनको भनाइ छ ।
महासचिव पोखरेलले मधेसको शिक्षा तन्दुरुस्त गर्न आवश्यक रहेको र यहाँका प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन रोक्न अपरिहार्य बनेको उल्लेख गरे । प्राकृतिक सम्पदाको अवैध दोहन रोक्न जनताको प्रतिरोधका लागि उनले आह्वान गरे ।