शीर्षकहरू

राजश्व वृद्धिमा भएको प्रगति प्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री

राजश्व वृद्धिमा भएको प्रगति प्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजश्व वृद्धिमा प्रगति भएपनि चित्त बुझाएर बस्न सक्ने अवस्था नरहेको बताएका हुन् । ‘जिन्दगीभरी धेरै राम्रो काम गर्न त्यति सजिलो छैन । अहिले राजश्वको लक्ष्यको हिसावले चापमा छौं । गत वर्षको तुलनामा राजश्वमा केही प्रगति भएको छ । राजश्व वृद्धिमा भएको प्रगतिमा चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । त्यसैले राजश्वसँग सम्बन्धित कुरा भन्सार विभागले बुझ्नुपर्छ,’ उनले भने । हिजोको  तुलनामा प्रगति गरेको हेरेर बस्ने होइन यो वर्षको राजश्वको लक्ष्य हासिल गरेर अगाडि बढ्नुपर्नेछ ।

साथै उनले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके  राजश्वको लक्ष्य हासिल गर्न सकिने बताए । उनले आर्थिक वर्षको मध्यतिर आइपुगेको र समिक्षा गर्ने विन्दुमा आइपुगेकाले विगतको ६ महिनाको राजश्व परिचालनको अनुगमन गरेर सहि ढंगले काममा लाग्नको लगि भन्सार विभागका सबै कर्मचारिहरुलाई आग्रह गरे ।

नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार  र उत्तरदायी बनाएको  बताएका छन् । उनले मुलुकको  समग्र विकासको  लागि व्यापारलाई भन्सारले अग्र स्थानमा राख्नुपर्ने बताए । उनले भने ‘निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार  र  उत्तरदायी बनाएको छ । तर भन्सार विभागमा देखिएका प्रक्रियागत झन्झटहरु कम हुनुपर्ने आवश्यक छ । वस्तुको  मूल्यांकन पद्धति अनुसार समेत हुनुपर्छ । विभागका तजविधि अधिकारीहरुको अन्त्य हुनुपर्ने, प्रशासनिक पुनरावलोकनका आदेशहरु प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरु उद्योग महासंघले दिएको छ । भन्सारले मुलुकको समग्र विकासको लागि व्यापारलाई अग्र स्थानमा राख्नुपर्ने आवश्यक देखिन्छ ।’

साथै उनले भन्सार विभागले राजश्वमा संकलनमा उच्च ध्यान दिनुपर्ने बताए ।