मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ । हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको पाइएको हो । पहिला हेटौँडा उपमहानगरपालिका वडा नं. १० मा रहेको वनविज्ञान प्रतिष्ठानकोको जंगलमा यौन सम्बन्ध राख्ने युवतीहरू अहिले होटलमा केन्द्रित भएको स्थानीय व्यवसायी बताउँछन् ।
ट्रक तथा मोटरसाइकल चालकहरूलाई जंगलमै यौन सम्पर्क गराउने युवतीहरू केही समययता होटल तथा लजहरूमा देखिन थालेको स्थानीय ललिता रिजालले बताइन् ।
जंगलमा असुरक्षा र प्रहरीको तारो बन्ने डरले उनीहरूको रोजाइमा होटल तथा लज परेको स्वयं उनीहरू बताउँछन् । हेटौँडाका कतिपय होटल तथा लजहरूले बाहिरबाट सम्पर्क गरी यौनकर्मीलाई बोलाएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
उनीहरूले आर्थिक लाभ लिनका लागि बाहिरबाट युवती, महिला, किशोरीहरू बोलाएर यौन सम्पर्क गराउने गरेका छन् तर, मकवानपुर जिल्ला प्रहरी कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय रिजालले बताइन् । पछिल्लो समय समस्याका रूपमा यौन व्यवसाय देखापरेको रिजाल बताइन् । प्रायः गरी दिनमा यौनकर्मीहरू समय तोकेर होटलमा बस्ने र होटल तथा लज सञ्चालकहरूले मोबाइलमार्फत ग्राहक खोजेपछि यौनकर्मी बोलाउने गरेको सामाजिक अगुवाहरु बताउने गर्छन् ।
कतिपयले त कोठामा नै राखेर ग्राहकसँग मोलमोलाई गर्ने गरेको पाइएको छ । त्यस्ता ग्राहकहरूले घण्टाको हिसाबमा पैसा दिन्छन् र यस्ता ग्राहकबाट होटल तथा लज सञ्चालकलाई मुनाफा हुने गरेको स्थानीयहरुको भनाई छ । स्मार्ट सिटीको रूपमा अगाडि बढिरहेको हेटौँडामा यौन व्यवसायका कारण बदनामी हुन थालेको बुद्धिजीवीहरूको भनाइ छ । उनीहरूले यसतर्फ प्रशासनले चासो देखाउनुपर्ने बताएका छन् ।
होटल एशोसिएसन, मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले केही होटल तथा लजहरूमा यौन व्यवसाय हुने गरेको आफूले सुनेको बताए । उनले प्रहरीसँग समन्वय गरेर त्यस्ता होटल तथा लजहरूमा अनुगमन गर्ने र यौन क्रियाकलाप गरेको पाइएमा प्रहरीसमक्ष बुझाउने बताए । उनले कुनै होटलमा त्यस्तो गतिविधि भइरहेको भएमा तुरुन्त संघलाई वा प्रहरीलाई जानकारी दिन अनुरोध गरे । नेपाल न्यूज बैंक