शीर्षकहरू

पाथीभरा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले गोली चलायो

पाथीभरा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले गोली चलायो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा बन्न लागेको केबलकारको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाउदा दुई जना घाइते भएका छन ।

शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली लागेका एकजनालाई केही अघि र अर्का एकको भर्खरै अस्पताल ल्याइएको जानकारी दिए । उनका अनुसार पाथीभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

घाइते मध्ये तेह्रथुम म्याङलुङका याम लिम्बूको अवस्था चिन्ताजनक रहेको स्थानीय बासीन्दा चन्द्रकुमार लेङदेनले बताए । उनलाई तिघ्रामा गोलि लागिपछि पनि शसस्त्र प्रहरीले बन्दुक कुन्दाले धेरैपटक प्रहार गरेको उनले बताए ।