काठमाडौं । मिटरव्याज पीडितहरूले जारी रहेको आर्थिक शोषणविरुद्ध जनजागरण अभियान माघ १४ गतेबाट शुरुवात गर्ने घोषणा गरेको छ । मिटरव्याज विरुद्ध किसान मजदूर आन्दोलन नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर मिटर व्याज पीडितको न्यायका लागि पुनः शान्तिपूर्ण आन्दोलन गर्नका लागि विवश रहेको जनाएको हो ।
मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले यस पटक पीडितहरूको सहभागितामा अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिए । उनले पत्रकार सम्मेलनमा मिटरव्याजको विरुद्ध आन्दोलनको बिस्तार देश व्यापी रुपमा गर्ने पनि बताए । मिटर व्याजका कारणले चार जना सहिद भएको बताउँदै यस अघि पटक पटक सरकारले सम्झौता गरेपनि कार्यान्वयन नगरेको गुनासो गरे ।
सङ्घर्ष समितिका अध्यक्ष कुशवाहाले मिटरव्याजको विरुद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको बताउँदै देशमा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशतले मात्र न्याय पाएको र धेरैले फर्जी कागजकै आधारमा कारागार चलान भएको उदाहरण दिए ।
राज्यको प्राथमिकतामा राखेर मिटरव्याज पीडितहरूको मुद्दा नरहेको र यदि यही स्थिति जारी रह्यो भने आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनी सङ्घर्ष समितिका केन्द्रीय महासचिव मनोज पासवानले बताए । मिटरव्याज पीडितहरूको जनजागरण अभियानको कार्यक्रम माघ १४ गते जनकपुरधाममा हुने वृहत् घोषणा सभामा सार्वजनिक गरिनेछ । यस अभियानले जनतामा मिटरव्याजको समस्या र यसको समाधानको आवश्यकता बारे गहिरो सचेतना फैलाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।