काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ११.१० अंकले घटेर दुई हजार ६५४.३५ बिन्दुमा बजार बन्द भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । बुधबार ९ अर्ब २० करोड ३० लाख रुपैयाँको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएकोमा यसदिन ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर कारोबार भएको छ ।
बिहीबार विकास बैंक र उत्पादन तथा प्रशोधनबाहेक अन्य सबै उपसमूहको शेयरमूल्य घटेको छ । २४३ कम्पनीमध्ये १५० कम्पनीको शेयर घटेकोमा ८६ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । बाँकी ७ कम्पनीको शेयर स्थिर रहेको छ ।
यसदिन तीन वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको हो । यस्तै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ ।