वालिङ । स्याङ्जामा शीतभण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारणमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमा भन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीतभण्डार स्थापना गरिएको हो ।
विशेषगरी जिल्लामा धेरै मात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीतभण्डारले सहज भएको हो ।
स्याङ्जाका ११ स्थानीय तहमध्ये हाल आठ स्थानीय तहमा १४ शीतभण्डार निर्माण भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए । उनका अनुसार विभिन्न क्षमतामा १४ वटा शीतभण्डार निर्माण भए पनि हाल १० वटा सञ्चालनमा रहेका छन् ।
‘केन्द्र, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा स्याङ्जाका विभिन्न स्थानीय तहमा शीतभण्डार निर्माण भएका छन्,’ उनले भने, ‘यहाँ सञ्चालनमा रहेका शीतभण्डारमा कृषिजन्य उत्पादनको भण्डारणमा सहज भएको छ ।’
जिल्लामा शीतभण्डार नहुँदाको समयमा यसअघि भैरहवा, पोखरालगायतका ठाउँमा रहेका शीतभण्डारमा विशेषगरी सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारण गर्नुपर्ने बाध्यता रहेको थियो ।
स्याङ्जाको वालिङ नगरपालिकामा तीन, गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिकामा दुई–दुईवटा, आँधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र चापाकोट नगरपालिकामा एक–एकवटा शीतभण्डार रहेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका– ११ जैसीडाँडामा जिल्लामै सबैभन्दा ठुलो क्षमताको स्याङ्जा शीतभण्डार स्थापना भई सञ्चालनमा आएको छ । उक्त शीतभण्डारको क्षमता एक हजार दुई सय मेट्रिकटन रहेको छ ।
जिल्लामा हाल सञ्चालनमा रहेका १० वटा शीतभण्डारमा कुल दुई हजार एक सय मेट्रिकटन कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने उनले बताए । ‘अहिलेको समय जिल्लामा अधिक मात्रामा उत्पादन हुने सुन्तला तथा केही मात्रामा आलु भण्डारण गरिएको छ,’ उनले भने, ‘सुन्तला शीतभण्डारबाट निकालेपछि प्रायः सबैजसोमा आलु भण्डारण हुन्छ ।’
यहाँ उत्पादन भएको बिउ आलु भण्डारण गर्न भैरहवालगायतका ठाउँमा लैजाँदै आएकोमा गाउँमै शीतभण्डार स्थापना भएसँगै सहज भएको गल्याङ– ११ जिमुहाँका अगुवा कृषक रुमलाल कँडेलले बताए । टाढा लैजानुपर्दा ढुवानी धेरै लाग्ने र समय पनि उत्तिकै धेरै लाग्ने गरेकोमा गाउँमै शीतभण्डार सञ्चालनमा आएपछि लागत कम लाग्ने गरेको उनले बताए ।