काठमाडौँ । २०७२ देखि काठमाडौँ उपत्यका केन्द्रित बस सञ्चालन गरिरहेको महानगर यातायातले आजदेखि टाटाका ४० वटा नयाँ बस थपेको छ । बिहीबार पत्रकार सम्मेलन गरी यातायतले आजैदेखि ती बस सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
नयाँ बस थपिएसँगै उपत्यकामा चल्ने महानगर यातायातको बसको संख्या ८९ वटा पुगेको छ । २०७२ मा महानगर यातायातले ३९ वटा बसदेखि आफ्नो सेवा प्रारम्भ गरेको थियो भने बीचमा १० वटा बस थप गरेको थियो ।
कार्यक्रममा महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले नयाँ बसहरु संचालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने बताए । आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ जानकारी उनले दिए ।
उनले एक वर्षभित्र थप ४० वटा विद्युतीय बस पनि थप्ने तयारी गरेको जानकारी दिए ।
यसैगरी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएसँगै पब्लिक महानगर यातायातले आफ्नो सेयर (आईपीओ) ल्याउने तयारी समेत गरेको उनले बताए । यसले सर्वसाधारणलाई कम्पनीको हिस्सेदार बन्ने अवसर प्रदान गर्दै सार्वजनिक यातायात क्षेत्रमा सहकार्य र सहभागिता विस्तार गर्ने उनको भनाइ थियो ।