शीर्षकहरू

भारतमा भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु, सनाखत भएका सातमध्ये चार जना नेपाली

भारतमा भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु, सनाखत भएका सातमध्ये चार जना नेपाली

काठमाडौँ । भारतको महाराष्ट्रस्थित जलगाउँमा स्थानीय समयअनुसार बुधबार साँझ ४:४२ बजे ठूलो रेल दुर्घटना भएको छ । पचोरा स्टेशननजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि केही यात्रुले चेन तानेका थिए । ट्रेन रोकियो र भयभीत यात्रुहरू हामफाले । यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कुच्यो ।

उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको​​​​​​​ जलगाउँ कलेक्टर कार्यालयले जनाएको छ । मृत्यु हुनेमध्ये सात जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये चार जना नेपाली रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दैनिक भाष्करका अनुसार मृत्यु हुने नेपालीहरूमा ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी, ४३ वर्षीया कमला नवीन भण्डारी र इम्तियाज अलि रहेका छन् ।

मध्य रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतहरूले घटना भएको ठाउँमा तीव्र मोड आएको बताएका छन् । जसका कारण अर्को ट्र्याकमा बसेका यात्रुले रेल आइपुगेको पत्तै पाएनन् । यही कारणले गर्दा कर्नाटक एक्सप्रेसले ठूलो संख्यामा मानिसलाई कुचेको थियो । सेन्ट्रल रेलवेका सीपीआरओ स्वप्निल निलाका अनुसार घटनास्थल मुम्बईबाट ४०० किलोमिटर टाढा छ ।