शीर्षकहरू

ओम मेगाश्री फर्मास्यूटिकल्सले विदेशमा रहेका नेपालीका लागि आईपीओ ल्याउने

ओम मेगाश्री फर्मास्यूटिकल्सले विदेशमा रहेका नेपालीका लागि आईपीओ ल्याउने

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशत दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्काशन गर्न माघ ३ गते अनुमति पाएको हो ।

सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत शेयर निष्काशन गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सम्पूर्ण कित्ता शेयर बाँडफाँट भएमा कम्पनीले दोस्रो चरणमा ९० हजार कित्ता सामूहिक लगानीकोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी १४ लाख ७६ हजार कित्ता भने सार्वजनिक निष्काशनमा ल्याउनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले फागुन ५ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवा प्रदान गर्न अनुमति प्राप्त बैंक तथा वित्रीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सक्नेछन् । यो कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधानको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो ।

एलोपेथिक तथा आयुर्वेदिक औषधिहरु उत्पादन तथा आयात गरी विक्री वितरण एवम् प्रबद्र्धन गर्ने कार्य यो कम्पनीले गर्दै आएको छ ।२०८० सालको चैत महिनादेखि कम्पनीले उत्पादन सुरु गरी विक्री वितरण गर्दै आएको जानकारी दिएको छ । हाल कम्पनीमा संस्थापतर्फ ४२ करोड रुपैयाँ चुक्तापूँजी कायम रहेको छ । सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ कायम हुनेछ ।

गत आर्थिक वर्ष ०८०/८१ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने ३ रुपैयाँ ३०पैसा छ । कम्पनी हाल सञ्चित नोक्सानीमै रहेको देखिन्छ ।