शीर्षकहरू

"ठमेलको बृहत पर्यटकीय विकासको लागि गुरुयोजना तयार हुदैंछ"

सहदेव धमला विगत एक वर्षदेखि ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ। यसका साथै, धमलाले ठमेलमा इको होटेलको संचालकको भूमिका पनि निर्वाह गरिरहनु भएको छ। आर्थिक न्यूज डटकमसँगको विशेष कुराकानीमा वहाँले ठमेल क्षेत्र लगायत देशको समग्र पर्यटन उद्योगको वर्तमान अवस्था, चुनौतीहरू, एवं अवसरहरूको बारेमा आफ्नो धारणा सरल र सटिक ढंगले व्यक्त गर्नुभएको छ। प्रस्तुत छ यसै कुराकानीको सम्पादित अंश:

सर्वप्रथम, राष्ट्रकै एक महत्वपूर्ण पर्यटन गन्तव्यको रूपमा स्थापित ठमेल क्षेत्रको अहिलेको पर्यटकीय अवस्थाबारे केही बताइदिनुहुन्छ?

ठमेल निसन्देह देशको समग्र पर्यटन उद्योगसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र हो। यस उद्योगमा करिब १० वर्ष अगाडि आएको ठूलो भूकम्प र त्यसको चार/पाँच वर्षपछि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ ले धरासायी बनाएको थियो। तर पछिल्ला केही वर्षहरूमा देखिएको विदेशी पर्यटकको आगमनमा वृद्धि भइरहेको छ। सन २०२४ मा यस्तो आगमन १२ लाखको ठूलो संख्यामा पुगेको पाइन्छ।यो सँगै थलिएको ठमेल क्षेत्रको पर्यटन पनि तंग्रिरहेको छ।

ठमेलको पर्यटन व्यवसायमा कसरी सुधार आइरहेको छ?

अवश्य पनि महामारी र यसले निम्त्याएको आर्थिक मन्दीको कारण ठूलो संख्यामा ठमेलका पर्यटन व्यवसायी विस्थापित भएका थिए। तर परिस्थितिमा आएको सुधारसँगै उनीहरूले पुनः आफ्नो व्यापारमा फर्केका छन्। यसको मुख्य कारण ठमेल क्षेत्रमा बाह्य र आन्तरिक पर्यटकको चहलपहल बढ्नु हो। नेपालमा प्रवेश गर्ने कुल अन्तर्राष्ट्रिय पर्यटकमध्ये ८० प्रतिशतले यस क्षेत्रको भ्रमण गर्छन्। यो आँकडाले के देखाउँछ भने गत वर्ष (सन २०२४) ८ लाख विदेशी पर्यटकले यहाँ घुमे। यस्तै, आन्तरिक पर्यटकले पनि ठमेलको व्यापारलाई गति दिन सकारात्मक योगदान गरेका छन्। ठमेलमा हुने आर्थिक कारोबारमा यस्ता भ्रमणकर्ताको ३०/४० प्रतिशत हिस्सा रहेको छ।

यहाँ के उल्लेखनीय छ भने करिब ९ महिना अगाडि सरकारले ठमेललाई २४ सै घण्टा खोल्ने निर्णयले पनि यस क्षेत्रका व्यापारमा सहयोग पुगेको छ।

मेलको पर्यटकीय विशेषता के हो?

यो पर्यटकको लागि सायद विश्वकै एक मात्र पर्यटन गन्तव्य हो जहाँ केवल १ किलोमीटर क्षेत्रभित्र १७ भिन्न प्रकृतिका ५,५०० भन्दा बढी व्यापारिक इकाइहरू रहेका छन्। यस्ता इकाइहरूमा होटेल, रेस्टुरेन्ट, क्युरियो, नाइट क्लब, वेलनेस र रिक्रियसन सेन्टर, पश्मिना/लुगा जस्ता सामग्रीका पसल आदि पर्दछन्।

यस्ता इकाइहरूले मासिक कारोबार रकम कति छ?

यिनीहरूले आफ्नो व्यवसायिक प्रकृति अनुसार प्रति महिना न्यूनतम ५ लाख देखि ३० लाखसम्मको व्यापार गरिरहेका छन्।

ठमेल पर्यटन विकास परिषद ठमेलको पर्यटकीय विकासको लागि के-कस्ता कार्यहरू सम्पादन भइरहेको छ?

ठमेलको बृहत पर्यटकीय विकासको लागि परिषद प्रतिबद्ध छ। यही प्रतिबद्धता स्वरूप हामी अहिले ठमेलको बृहत पर्यटकीय विकासको लागि एक गुरुयोजना निर्माण गर्न लागिरहेका छौं। यसको लागि हामीले अवधारणा पत्र (कन्सेप्ट पेपर) तयार गरी काठमाडौं महानगरपालिकामा बुझाइ सकेका छौं।

यो गुरुयोजनाको अवधारणा पत्रबारे केही प्रकाश पारिदिनुहुन्छ कि?

यो अवधारणा पत्रले ठमेलको विकासलाई सामाजिक, आर्थिक र पूर्वाधार गरी तीन शीर्षकमा छुट्याएको छ। पहिलो शीर्षक अन्तर्गत यो क्षेत्रको शान्ति र सुव्यवस्थाको प्रत्याभूति गर्ने लगायतका विषय समेटिएको छ भने दोस्रो शीर्षकमा त्यहाँ रहेका व्यवसायीहरूको हकहितको लागि के कार्य गर्न सकिन्छ भन्ने कुरा राखेका छौं। यस्तै, तेस्रो शीर्षकमा ठमेल क्षेत्रको पार्किङ्ग, ट्राफिक र सडक बत्ती सुधार लगायत सौन्दर्यकरणका योजनाहरू रहेका छन्।

अवधारणा पत्रमा समाविष्ट तीन शीर्षकमा उल्लिखित विषयहरूको कार्यान्वयन समयको हिसाबले तीन चरणमा गरिने रणनीति अपनाइएको छ। पहिलो चरण ५ वर्षको अल्पकालीन, दोस्रो चरण १० वर्षको मध्यकालीन   र तेस्रो चरण १५ वर्षको दिर्घकालीन   हुनेछ। यस अवधारणा पत्र बारे परिषद र महानगरपालिका पदाधिकारीहरूबीच अहिले छलफल भइरहेको छ। यस पश्चात् हामी दुवै पक्षको सहकार्यमा गुरुयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारिनेछ।

ठमेलको गुरुयोजनालाई कार्यान्वयनको लागि अनुमानित लागत कति छ?

यसको अनुमानित लागत २.५ अर्ब रुपैया रहेको छ।

राष्ट्रको पर्यटन उद्योगको अभिवृद्धिको लागि मुख्य बाधक के हो?

राज्यले यस उद्योगको अभिभावकको भूमिका खेल्न निरन्तर असफल भइरहेको छ। उदाहरणको लागि, कोभिड महामारीले सबैभन्दा विकराल प्रभाव पारेको क्षेत्र भनेको पर्यटन थियो। तर पनि सम्बन्धित निकायले यस उद्योगलाई टेवा दिने हेतुले कुनै पनि "स्टिमुलस प्याकेज" (नगद हस्तान्तरणजस्ता सरकारी राहत कार्यक्रमहरू) ल्याएनन्।

महामारीले निम्त्याएको त्यस्तो विषम आर्थिक परिस्थितिमा पनि पर्यटन व्यवसायीहरूले न करमा छुट पाए, न त बैंकको ऋणको ब्याजमा कुनै सहुलियत नै पाए। राज्यको पर्यटन व्यवसायप्रति चरम उदासीनताको अर्को दृष्टान्त भनेको हालसालै वातावरण लगायत अन्य कारण देखाउँदै सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान निषेध गर्नु हो। यसले उक्त क्षेत्रको पर्यटक गतिविधिमा बाधा पुगेको छ।

यस उद्योगको अन्य चुनौतीहरू के हुन्?

नेपालको युरोपसँग सिधा हवाई सम्पर्कको अभाव, विदेशी पर्यटकले तिर्नुपर्ने महँगो बीमा शुल्क, र पर्यटन व्यवसायीहरू बीच घाँटीरेट प्रतिस्पर्धा यस उद्योगका अन्य समस्याहरू हुन्। नेपालको युरोपसँग सिधा हवाई सम्पर्क नभएको कारण युरोपेली मुलुकहरूको पर्यटकहरूले कुनै दोस्रो मुलुकमा गएर यहाँ आउनुपर्ने बाध्यता छ।

यसो गर्दा उनीहरूले आर्थिक भार मात्र नभई समयको हिसाबले पनि अनावश्यक झन्झट व्यहोर्नु परेको पाइन्छ। यस्तै, कुनै पनि युरोपेलीले नेपाल भ्रमण गर्दा ८००/९०० युरोसम्म बीमा शुल्क तिर्नुपर्ने अवस्था छ। यो वास्तवमै चर्को मूल्य हो जसले गर्दा उनीहरूमा नेपाल प्रतिको आकर्षणमा कमी ल्याएको छ।

यस्तैगरी, केही पर्यटन व्यवसायीहरू व्यावसायिक नैतिकताको तिलाञ्जली दिदै केवल पैसा कमाउने होडमा छन्। उनीहरूले चाहिने भन्दा सस्तो मूल्यमा विदेशी पर्यटकलाई भ्रमण प्याकेज बेची गुणस्तरहीन सेवा/सुविधा प्रदान गरिरहेका छन्। यसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भइरहेको छ।

राष्ट्रको समग्र पर्यटन उद्योगको श्रीवृद्धिको लागि के गर्नुपर्छ?

यस उद्योगले नेपाली अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। यसको प्रति वर्ष कुल ग्राहस्थ उत्पादनमा ६ प्रतिशत (३ खर्ब रुपियाँ बराबर) कुल योगदान गरिरहेको छ। यस्तै, यस उद्योगले १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ, जुन नेपालको कुल रोजगारीको ७% हो। पर्यटनलाई देशको सामाजिक/आर्थिक रुपान्तरणको एक बलियो औजारको रूपमा विकास गर्न राज्य र निजी क्षेत्रको संयुक्त प्रयास अपरिहार्य छ।

यस्तो प्रयास अन्तर्गत हाल यस उद्योगले सामना गरिरहेका समस्याहरूको समाधानको अतिरिक्त अन्य कदमहरू चाल्नुपर्छ। यस्ता कदमहरूमा नेपालको मुख्य पर्यटन गन्तव्य अन्तर्राष्ट्रिय बजारमा बजारीकरण र ब्रान्डिङ सम्बन्धी नीतिगत व्यवस्था, हवाई सेवाको विकास र विस्तार (अन्तर्राष्ट्रिय पर्यटन बजारलाई लक्षित गरी), दक्ष जनशक्तिको उत्पादन आदि पर्दछन्। यदि यस्ता प्रयासहरू हुनसके पर्यटन उद्योगले ठूलो फड्को मार्ने कुरा निश्चितप्राय: छ।